टाटा सफारी टेष्ट ड्राइभ अनुभवः टु ह्वील ड्राइभमै फोर ह्वीलको मज्जा

काठमाडौं । टाटा मोटर्सले सन् १९९८ देखि २०१९ सम्म विक्री गरको आफ्नो पहिलो जेनेरेशन सफारी नेपाली बजारमा एक लिजेन्ड एसयूभीको रुपमा स्थापित एसयूभी हो ।

सन् १९९८ मा पहिलो पटक उत्पादन भएको सफारी एक मस्कुलर डिजाइन भएको युरोपियन सौन्दर्यशास्त्रबाट प्रेरित एसयूभी हो । टाटा सफारीले उक्त समयका प्रतिस्पर्धी मोडललाई गज्जबको टक्कर दिएको थियो । फोर ह्वील ड्राइभ अप्सन तथा उच्च ग्राउन्ड क्लियरेन्सका कारण छोटो समयमै एसयूभी प्रेमीहरुको छनौटमा पर्न सफल टाटा सफारी एक आइकोनिक मोडल हो ।

सन् २००५ मा एयरव्याग तथा रियर एसीभेन्ट सहित दुई फरक इन्जिन (डाइकोर ३.० र २.२ लिटर) अप्सनमा टाटा सफारीको पहिलो फेसलिफ्ट भएको थियो । टाटाले सफारीलाई सन् २०१२ मा सफारी स्ट्रोमको नामबाट सुधारियको डिजाइन तथा तथा क्यावीनमा प्रिमियम काठको बुट्टाहरुको डिजाइन सहित दोस्रो जेनेरेशन लन्च गरेको थियो । जसका कारण भारतीय बायूसेना तथा धेरै अफरोड क्लबको समेत रोजाइमा सफारी स्ट्रोम पर्न सफल भएको थियो ।

तर, बढ्दो प्रतिस्पर्धा तथा भारतले लागु गरेको प्रदुषण मापदण्ड बीएस सिक्सको कारण टाटा मोटर्सले अचानक यसको उत्पादन बन्द गरेको थियो । टाटाले सन् २०१९ को जेनेभा मोटर शोमा बजार्ड तथा २०२० को अटो एक्स्पोमा ग्राभिटासको नामले ठूलो साइजको एसयूभी देखाइरहेको थियो । भारतमा टाटा ह्यारियरको लन्चसगै टाटाले फेरी एक पटक ठूलो साइजको एसयूभी बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

धेरैले टाटाले आफ्नो एच ५ मा केही सेन्टीमीटर बढाएर ७ सिटे एसयूभीको रुपमा ग्राभिटास वा बजार्ड नामबाट नयाँ एसयूभी ल्याउने अनुमान गरेका थिए । तर, टाटा मोटर्सले आफ्नो ७ सिटे एसयूभीलाई आफ्नो पुरानो लिजेन्ड एसयूभी सफारीको ब्राण्ड नेममा लन्च गरेसँगै यो पहिलेका कन्सेप्टभन्दा निकै फरक र पुरानो सफारीको जस्तै झलक दिने एसयूभीको रुपमा आएको छ ।

यसमा  लामो साइजको क्वाटरग्लास, स्टेप भएको रुफरेल, नयाँ टेलगेटले सफारीलाई सम्झाउँछ । त्यस्तै यसमा रहेको विलकुलै नयाँ डिजाइनको फ्रन्ट ग्रिल, प्यानारोमिक सनरुफ, सिग्नेचर ओयस्टर ह्वाइट कलर इन्टेरियरका साथै ह्वाइट कलरकै नाप्पा लेदरको सिट कभर, तथा क्याप्टेन सिट अफ्सनले नयाँ सफारीलाई प्रिमियम तथा धेरै थरीका ग्राहकहरुको रोजाइमा पार्न सफल भएको छ ।

ड्राइभिङ अनुभव

हालैमात्र हामीले टाटा सफारीमा लामो यात्रा गर्ने अवसर पाएका थियौ । नयाँ सफारीमा २.० लिटरको फोर सिलिण्डर क्रियोटेक डिजेल इन्जिन प्रयोग भएको छ । जसले १७० पीएस पावर तथा ३५० एनएमको टर्क जेनेरेट गर्छ । यथेष्ट पावर रहेको सफारी डिजेल इन्जिन भएर पनि क्याविनमा आवाज आउँदैन । यो सफारीको सबैभन्दा बलियो पक्ष हो ।

एसयूभीमा प्रयोग भएको १८ इन्चको ठूलो टायरले नेपाली हाइवेको बिग्रिएका तथा कच्ची बाटाहरुमा सफारी चलाउन कुनै समस्या हुँदैन । हामीले टाटा सफारीलाई लम्जुङको केही बिकट गाँउका बाटाहरुमा पनि चलाउने निर्णय गर्यौ । पहिले पोखरा मात्र रहेको हाम्रो डेस्टिनेसन मुग्लीन क्रस भएर डुम्रे पुगेपछि लम्जुङतीर मोडियो ।

टाटा सफारीको पहिलाको जेनेरेशन मोडल फोर ह्वील ड्राइभ सिस्टममा थियो तर, नयाँ सफारीमा भने यो अप्सन छैन । सिप्रदी ट्रेडिङका आधिकारीक व्यक्तिले फोरबाइफोर फङ्सन नभएता पनि नयाँ सफारीमा रहेको विभिन्न ड्राइभिङ मोडहरुको कारण यो एसयूभी सबैखाले बाटाहरुमा जानसक्ने बताएका थिए ।

लम्जुङ घलेगाँउ जानेबाटो धेरै ठाँउमा उकालो तथा कच्ची रहेको छ । यस्तोमा यो गाडीले कस्तो पफर्मेन्स दिन सक्छत अब जान्ने उत्सुकता बढिसकेको थियो । सात सिटको गाडी भएकाले हामीले सात जना नै घलेगाँउ जाने निर्णय गर्यौ । सात सिटमै प्यासेन्जर बस्दा एउटा सानो समस्या भने हुने रहेछ । सातै सिट प्रयोग गर्दा लगेजको स्पेस भने कम मात्रै बाँकी रहने छ । लगेजलाई बेसीसहरमै राख्ने कि भन्ने छलफल भयो तर, हामीले सबै लगेज लिएर उकालो चढ्यौ ।

सुरुमा भेटिएको घुमाउरो तर पिच बाटामा त कुनै पनि गाडीलाई समस्या हुने कुरा भएन । तर माथि उक्लिदै गएपछि कच्ची, भर्खरै बिस्तार गर्दै रहेको, तथा ढुङ्गा मात्र छापेको बाटोमा सफारी चलाउन भने च्यालेन्जनै हुने रहेछ । सफारीमा रहेको रफरोड ड्राइभिङ मोडमा राखेर चलाउँदा भने गाडी विस्तारै क्रल गर्दै गुडेको थियो । १८ इन्चको टायर तथा २०५ एमएमको ग्राउण्ड क्लियरेन्सका कारण कुनै पनि एसयूभी गुड्ने बाटाहरुमा सफारी चलाउन कुनै समस्या नहुने हामीले पार्यौ । ढुङ्गै ढुङागा भएको उकालो बाटो तथा हिलो चिप्लो बाटाहरुमा पनि ट्रयाक्सन कन्ट्रोल फिचरका कारण सफारी सजिलै कन्ट्रोलमा गुढ्ने रहेछ । अटोहोल्ड, हिल डिसेन्ट कन्ट्रोल तथा इलेक्ट्रिक पार्किङ ब्रेकका कारण उकालो ओरालोमा चलाउन एकदमै सजिलो अनुभव भयो ।

लम्जुङको घलेगाँउसम्मको यात्रापछि हाम्रो प्रमुख गन्तब्य पोखरातर्फ हामी मोडियौ । आजकल कम्पनीहरुले एसयूभीको डिजाइन दुबै अफरोड तथा सिटीका लागि उपयुक्त किसिमले बनाएका हुन्छन् । यो विशेषता टाटाको सफारीमा पनि भरपूर रुपमा लागु भएको रहेछ । टाटा सफारीलाई सहरी तथा हाइवेमा चलाउदा अझ रमाइलो अनुभव रह्यो । यो एसयूभीलाई हाइवेमा स्पीड चलाउन ओभरटेक गर्न यसको पावरले पुरा पुर सपोर्ट गर्छ । गाडी बाटोमा पुरा स्टेबल रहेको थियो भने उच्चगतिमा चलाउँदा कर्नरमा भने केहि बडिरोल भएको अनुभव हुन्छ ।

स्पीडमा रहेको अवस्थामा अचानक हाइवेमा आउने सानातीना खाल्डोमा पर्दा पनि क्यावीनमा खासै जर्कको महसुस नहुँने हुँदा यसमा चालक र यात्रुले आरमदायी यात्रा गर्न पाउने छन् । यसमा प्रयोग भएको सस्पेन्सन निकै राम्रो छ । साथै, सबै चारै चक्कामा डिसब्रेक दिएका कारणले होला ब्रेकको प्रफर्मेन्स पनि उत्कृष्ट रहेको छ । फ्लोटिङ टचस्कृन, जेबिएलको अडियो सिस्टम, पुसबटम स्टार्ट/स्टप, सेमी डिजिटल इनट्रुमेन्ट क्लष्टर, टिल्ट तथा अपडाउन दुबै तरिकाले एड्जस्ट गर्न मिल्ने लेदरर्याप स्टेरिङ ह्वीलले सबै हाइटका ड्राइभरलाई ड्राभिङ कम्फर्टेबल फिल गराउने छ ।

अन्त्यमा, ल्याण्डरोभरको डिस्कभरी स्पोर्ट तथा रेन्जरोभर इभोक बनेको डी८ प्लेटफर्ममा आधारित टाटाले तयार गरेको ओमेगा आर्क प्लेटफर्ममा बनेको यो एसयूभी नेपाली बाटाको लागि निकै उपयोगी रहेको छ । आकर्षक डिजाइन, उच्च पावर र आइकोनिक सफारी नेम प्लेटले यसलाई उत्कृट बनाएको छ ।

पछिल्लो समय टाटाले उत्पादन गरेको गाडीहरु चालक तथा यात्रुको सुरक्षालाई विशेष ध्यान दिएको कारण गाडी किन्ने मानिसलाई आफुतिर थप आकर्षित गर्न सफल भइरहेको छ । टाटा सफारीमा पनि ६ वटा एयरव्याग, क्रुज कन्ट्रोल, एबीएस, इएसपी, हिल डिसेन्ट कन्ट्रोल, टेरेनमोड (नर्मल, रफरोड, वेटरोड) तथा तीन फरक ड्राइभिङमोड (इको, सिटी तथा स्पोर्ट), इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड जस्ता फिचरले सुसज्जीत बनाएको छ । जसका कारण टाटा सफारीमा आफु र आफ्नो परिवार आरामदायी तथा सुरक्षीत तरिकाले यात्रा गर्न सक्नेमा कुनै शंका रहेन ।


Back_to_top