काठमाडौं । मूल्यको हिसावले बजार निकै महत्वपूर्ण बन्दै गएको छ । त्यसमाथि नेपाली कार बजारमा इलेक्ट्रीक कारमा देखिएको प्रतिस्पर्धाले थप रोचक बन्दै गएको छ । अहिले चल्तीका ब्राण्डले १७ लाखदेखि २ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने ईभी यहाँ बिक्री गर्दै आएका छन् ।
तर, ३० लाख हाराहारी मूल्य तिरेर किन्न पाइने राम्रा ईभीको सूची अझै लामो बन्न सकेको छैन । यस्तोमा बजारमा दुई इलेक्ट्रीक कारले प्रबेश गर्ने तयारी थालेका छन् । त्यसमा सबैभन्दा पहिला विलिङ विङ्गो मोडल नेपाल आउने छ ।
ईभी नेपाल मोटर्सले ल्याउने विलिङ विङ्गो ३० लाख हाराहारी मूल्यमा नै बजारमा आउन सक्ने मोडल हो । इन्डोनेशियामा बुकिङ खुल्ला भएको विङ्गो ईभी चाँडै नेपाल आउने कम्पनीले जनाएको छ ।
अर्को नेटा ‘आया’ मोडल नेपाल आउने छ । सिजी मोटर्सले नेपाल ल्याउने आया मोडल अहिले कै नेटा भी जस्तो मोडल हो । यसमा दुई फरक ब्याट्री अप्सन रहने अनुमान गरिएको छ ।
विलिङ विङ्गो
विलिङ विङ्गोे एक प्रिमियम ह्याचव्याक कार हो । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
विलिङले विङ्गो मोडललाई इन्डोनेशियाली बजारमा ३१.९ र ३७.९ किलोवाट आवरको दुई फरक साइजमा ‘लिथियम फेरो फस्फेट’ ब्याट्री दिएर बिक्री सुरु गर्दै छ । त्यही नै मोडल नेपाल आउने हो ।

कम्पनीका अनुसार सानो साइजको ३१.९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३३३ किलोमिटर र लङ रेन्ज मोडलले ४१० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । यसमा रहेको ब्याट्रीलाई चार्ज गर्न ३० किलोवाटको डीसी फास्ट चार्जरले ३५ मिनेट र एसी चार्जरलाई ९.५ घण्टा लाग्छ ।
विलिङ विङ्गोे दुई डिजिटल स्कृनको साथ आउने छ । यसमा ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्कृन रहने छ । विङ्गोेमा ४९ किलोवाटको मोटर छ । जुन नेपालमा सबैभन्दा कम कर लाग्ने मोटर सेग्मेन्टमा पर्छ ।
नेटा आया
होजोन मोटर्सले आया चीनमा बिक्री गर्दै आएको छ । चीनमा ४० र ७० किलोवाट क्षमताका दुई मोटर अप्सन रहेको आया मोडल नेपाल ल्याउने प्रक्रिया सुरु भएको कम्पनीको भनाइ छ ।
टेस्लाको जस्तै डिजाइनमा तयार भएको सानो कार आया नेटा भीको फेसलिफ्टमा मोडल हो । अगाडि क्लोज ग्रिल र तल्लो भागमा नयाँ डिजाइनको ट्रापेजोडिया सेपको डट म्याट्रिक्स प्याटर्न यसमा दिएको छ ।

साइडमा हेर्दा यसको फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट दिएको छ । त्यस्तै नयाँ डिजाइनको १६ इन्च डबल फोर स्पोक अलोय ह्वील पाउन सकिन्छ ।
नेटा आयाको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम, उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस भने २४२० एमएम रहेको छ ।
यसमा दुई ब्याट्री अप्सन रहन जनाइएको छ । तर, नेपाल कुन साइजको ब्याट्री र मोटरमा आउँछ कम्पनीले अहिलेसम्म केही खुलाएको छैन ।

