नेपालमा सार्वजनिक हुँदै इलेक्ट्रीक स्पोर्टस मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । भारतीय स्टार्टअप इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ ।

केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू गर्न लागेको हो ।

प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री हुन लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको थियो ।

कम्पनीले अल्ट्राभोइलेट एफ-७७ नेपाल ल्याएर परीक्षणको काम गरिरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको छ ।

अल्ट्राभोइलेट एफ-७७ भारतमा विभिन्न तीन भेरियन्ट उपलब्ध छ । एफ-७७ लाइटिनिङ, एफ-७७ स्याडो र एफ-७७ लेजरगरी तीन भेरियन्टमा छनोट दिइएको छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने एकीन भएको छैन ।

अल्ट्राभोइलेट एफ-७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघण्टा १४७ किलोमिटर रहेको कम्पनीको दाबी छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड पाउन सकिन्छ ।

यसको टप भेरियन्टमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घण्टामा र फास्ट चार्जरबाट एक घण्टा ५० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो मोटरसाइकलको मूल्य १० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top