यस्ता छन् २०२० मा नेपाल आउने संभावित नयाँ मोटरसाइकल

काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधन नेपालमा सबैभन्दा बढी बिक्री हुनेमा पर्छन् । संख्यात्मकरुपमा धेरै बिक्री हुने भएसँगै दुई पाङ्ग्रे सवारीसाधनमा नयाँ नयाँ मोडल आउनुलाई स्वभाविक मान्न सकिन्छ ।

मोटरसाइकल बिक्रेता कम्पनीले नयाँ मोडल नेपालमा बिक्री गर्न ल्याउनु पहिले त्यसको इन्जिन क्षमता, स्टाइल र अन्तर्राष्ट्रिय बजारमा गरेको पर्फमेन्सलाई मुख्य आधार बनाउने गरेका छन् । यस्तोमा सन् २०२० भित्र नेपाली बजारमा आउन सक्ने तीन चर्चित मोडलको विषयमा यहाँ हामीले जानकारी दिने प्रयास गरेका छौं ।

१. यामाहा एक्सएसआर १५५

यामाहाको नेपालको लागि आधिकारी वितरक मोरङ्ग अटो वर्कले भारत बाहेक देशमा उत्पादन भएका नयाँ नयाँ मोडल ल्याउन सुरु गरेकाले उसले ल्याउने सम्भावित मोटरसाइकलको सूचीमा ‘एक्सएसआर १५५’ रहेको छ । वाइजेडएफ–आर १५ भी३ को प्लेटफर्ममा आधारित मोटरसाइकल थाइल्याण्डको बजारमा निकै चर्चामा रहेको छ ।

एक्सएसआर १५५ को लागि आफ्नो चर्चित मोटरसाइकल ‘एमटी १५’ बाट चेसिस, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोक, रियर मोनोशक, इन्जिन र केही कम्पोनेन्ट्स लिइएको छ ।

यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । १५५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान भएको बाइकले १९ बीएच पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लचले बाइकलाई प्रिमियम बनाएको छ । नेपालमा २०२० भित्र सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको मूल्य ५ लाख पर्ने अनुमान गर्न सकिन्छ ।

२. हिरो एक्स्ट्रीम १६० आर

हिरोले केही दिनअघि ग्लोवल सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजी जयपुरमा आफ्ना तीन उत्पादन सार्वजनिक गर्यो । यसमा एक्स्ट्रीम १६० आर नयाँ उत्पादन रहेको छ । कम्पनीले यो मोटरसाइलको बिक्री भारतमा मार्चबाट सुरु गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय मिडियासँगको छलफलमा कम्पनीका बिजनेश हेड रजत भार्गवले अन्तर्राष्ट्रिय बजारमा २०२० भित्र यो मोटरसाइकल बिक्री सुरु गर्ने बताएका छन् ।

यस मोटरसाइकलमा १६३ सीसी एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १५ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यो नयाँ मोटरसाइकलले ० देखि ६० किलोमिटरको स्पीड केवल ४.७ सेकेन्डमा भेट्टाउने छ ।

यो मोटरसाइकल नेपाली बजारमा भदौमा हुने नाडा अटो शो २०२० मा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

३. जावा ४२

महिन्द्रले स्वामित्व किनेर भारतीय बजारमा उत्पादन सुरु गरेको जावा ब्राण्ड नेपाल आउने प्रक्रियामा रहेको छ । हाल भारतीय बजारमा जावाले २ मोडलमा मोटरसाइकल बिक्री गर्दै आएको छ । जावा ४२ र जावा पेरक नेपालमा आउन सक्ने मोडल हुन् ।

सन् २०२० भित्र नेपाली बजारमा जावाका मोटरसाइकल भित्रने अनुमान गरिएको छ । जावा ४२ मा २९३ सीसी ४ भल्भ लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २७ बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

भारतीय बजारमा १ लाख ५६ हजार भारतीय रुपैयाँमा बिक्री भइरहेको यो मोटरसाइकल नेपाली बजारमा ५ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top