काठमाडौंका सडकमा ‘इन्टिलिजेन्ट ट्राफिक सिस्टम’ जडान हुने

काठमाडौं । सडक विभाग अन्तर्गतको ट्राफिक प्रहरी सुरक्षा महाशाखाले ‘इन्टिलिजेन्ट ट्राफिक सिस्टम’ (आईटीएस) जडान गर्ने भएको छ ।
ट्राफिक व्यवस्थापनलाई दिर्घकालिन व्यवस्थापनको लागि यो सिस्टम जडान गर्ने योजना अघि सारिएको महाशाखा प्रमुख कृष्ण ओझाले जानकारी दिए ।

उनका अनुसार हाल यसको अध्ययनका लागि कन्सल्टेन्ट हायर गर्ने प्रकृया सुरु भएको छ । यो योजना अर्को वर्षबाट कार्यान्वयनमा ल्याउने गरी अघि बढाइएको उनले बताए ।

यसले अहिलेको ट्राफिकलाई नेटवर्क बेसमा सञ्चालन गर्ने छ । अहिले ट्राफिक आफै उभिएर गर्नु पर्ने कामलाई नेटवर्क बेसमा गरिने छ ।

यो सिस्टमको ट्राफिक लाइट जडान गरेपछि एउटा इन्टरसेक्सन र अर्को इन्टसेक्सनको ट्राफिक लाइटसँग कोडिनेसन हुने उनले बताए ।

‘एउटा इन्टरसेक्सनबाट पास भएको गाडी कम्तिमा २ वटा इन्टरसेक्सन पास गरेपछि रोकियोस भनेर हामीले यो सिस्टम ल्याउन खोजेका हौँ ।

ट्राफिक लाइट बल्ना साथ परिवर्तन नआउने बताउँदै उनले मान्छेहरुको व्यवहारमा परिवर्तन ल्याउने कोशिस सहित हाल ट्राफिक लाइट सञ्चालनमा ल्याइएको बताए ।

यो सिस्टम नेपालमा जडान गर्न सकिन्छ कि सकिदैन यो अध्ययन पछि थाहा हुनेछ,’ प्रमुख ओझाले मेरोअटोसँग भने ।

उनका अनुसार काठमाडौंमा झण्डैं डेढ सय वटा इन्टरसेक्सनमा आईटीएस सिस्टम जडान गर्नु पर्ने हुन्छ । त्यसका लागि आवश्यक जनशक्ति नहुँदा एक्सपर्ट भने बाहिरबाट बोलाउने तयारी भएको उनले बताए ।

‘हामी कहाँ एक्सपर्ट छैनन्, बाहिरबाट ल्याएर यहाँ काम गर्न लागेको हौँ ।’ प्रमुख ओझाले भने ।

नेपालमा विद्युतीय सामान बनाउने र त्यस सम्बन्धी योग्य व्यक्ति नहुँदा ट्राफिकहरु हात हल्लाउन बाध्य भएको उनको तर्क छ ।

हाल ट्राफिक लाइट राखिसकेपछि पनि ट्राफिक प्रहरी सडकमा खटाउनु पर्ने अवस्था सृजना हुँदा यसको दिर्घकालिन तयारीका लागि आईटीएस सिस्टम जडान गर्न खोजीएको हो ।

हाल जडान गरिएका ट्राफिक लाइटहरु धेरै जसो पुरानोलाई नै मर्मत सम्भार गरिएर पुन प्रयोग गरिएको छ ।

‘अहिले हामी नयाँ राख्दैनौँ, आईटीएस सिस्टममा जादा नयाँ ट्राफिक लाइट राख्ने छौँ,’ ओझाले भने ।

ट्राफिक लाइट बल्ना साथ परिवर्तन नआउने बताउँदै उनले मान्छेहरुको व्यवहारमा परिवर्तन ल्याउने कोशिस सहित हाल ट्राफिक लाइट सञ्चालनमा ल्याइएको बताए ।

उनी सडक यात्रुहरुले जेब्राक्रसिङबाट मात्र सडक पार गरे पनि ठूलो सहयोग हुने बताएँछन् ।

‘यहाँ रेडलाइट बल्दा समेत बाटो काट्नेहरु छन्, यही कुरालाई परिवर्तन गर्न खोजिरहेका छाैँ,’ उनले भने ।

ट्राफिक व्यवस्थापनलाई १०० प्रतिशत राम्रो गर्न सुरुमा सडक मर्मत गर्नु पर्ने उनको भनाई छ ।

‘अहिले २ लेनका सडक छन्, ४ लेनमा सवारी गुड्छन्, सडकमा ट्राफिक लाइट राखेर मात्र व्यवस्थापन हुन सम्भव छैन, हामी त जेनतेन गरी व्यवस्थापन गरिरहेका छौँ,’ प्रमुख ओझाले भने ।

हाल राखिएको ट्राफिक लाइटको टाइम म्यानेजमेन्ट ट्राफिक प्रहरी आफैले बग्गिखानाबाट गरिरहेको उनले बताए ।

सडकको चाप हेरेर ट्राफिक पुलिसले आफैँ ट्राफिक लाइटको समय परिवर्तन गर्ने गरेका छन् । हाल वायरलेस व्यवस्था भएका कारण यो सहज भएको उनले बताए । विगतमा एउटा ट्राफिक लाइटको टाइम बिग्रिए मिलाउन ट्राफिक लाइट भएकै ठाउँमा पुग्नुपर्ने बाध्यता थियो ।


Back_to_top