आधा दर्जन नयाँ मोटरसाइकल नेपाल आउँदै, कुन ब्राण्डको तयारी कस्तो ?

काठमाडौं । सन् २०२६ को पहिलो त्रैमासमै आधा दर्जन बढी नयाँ मोटरसाइकल नेपाल आउने भएका छन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै भारतीय बजारमा बिक्री थालिएका नयाँ मोडल छिट्टै नेपालमा पनि उपलब्ध हुने भएका हुन् ।

बजाज, टीभीएस, हिरो, सीएफमोटो लगातयका ब्राण्डले नयाँ मोटरसाइकल बिक्री थाल्दैछन् । केही विल्कुलै नयाँ ब्राण्ड पनि नेपालमा बिक्री थाल्ने योजनामा देखिएका छन् ।

सबैभन्दा पहिला बजाजले पल्सर २२० एफको अपडेटेड भर्सन बिक्री थाल्ने अनुमान गरिएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ २२० एफको बुकिङसमेत लिइरहेको छ । सम्भवतः जनवरी अन्तिमसम्ममा यसको बिक्री सुरू हुनेछ ।

त्यस्तै, सीएफमोटोको डबल पपर्स मोटरसाइकल २५० डुअल पनि छिट्टै बिक्री थालिने मध्येको एक मोडल हो । कम्पनीले पछिल्लो दुई महिनादेखि डुअल २५० नेपाली सडकमा परीक्षण गर्दै आएको छ । सम्भवतः यसको बिक्री फेब्रुअरी मध्येबाट सुरू हुनेछ ।


गत नाडा अटो शोमै प्रदर्शनी गरिएको हिरोको चर्चित मोडल एक्सपल्स २१० पनि बिक्री सुरू हुँदैछ । सीजी मोटर्सले बिक्री गर्ने एक्सपल्स २१० पनि आगामी फेब्रुअरीदेखि बिक्री थाल्ने तयारीमा कम्पनी छ ।

टीभीएसले २०२५ को अन्तिममा भारतमा बिक्री थालेको ‘नयाँ आरटीएक्स ३०० एड्भेन्चर टूरर’ मोटरसाइकल पनि चाँडै नेपाल आउन सक्ने मोडल हो । कम्पनीले नेपाली नयाँ वर्षको छेउछाउ पारेर यसको बिक्री थाल्ने अनुमान छ । यसको परीक्षण भने केही दिनमै थाल्ने जगदम्बा मोटर्सले तयारी गरेको छ ।

नाइमा अटो शो २०२५ मा प्रर्दशन गरिएको मोर्बिडेली ब्राण्ड पनि नेपालमा आफ्नो आधिकारिक बिक्री थाल्ने योजनामा छ । वैद्यज् अर्गनाइजेशन अन्तर्गतको कम्पनीले मोर्बिडेलीका उत्पादन ल्याउने भएको हो ।

कम्पनीले नाइमा अटो एक्स्पो २०२५ मा देखाएको मोर्बिडेली २५० र ३५० एड्भेन्चर टूरर मोडल नै पहिला ल्याउने अनुमान गर्न सकिन्छ । कम्पनीले नक्सालमा मोर्बिडेलीको शोरुम निर्माणको काम सुरू गरिसेकेको छ ।


Back_to_top