काठमाडौं । विशाल ग्रुपको सहायक कम्पनी भीजी मोटर्सले चीनको जोइलोङ्ग अटोमोवाइलको आधिकारीक बिक्रेता पाएको छ । १५ अगस्ट २०२४ मा चीनमा औपचारिक रूपमा दुई कम्पनी बीच सम्झौंता भएको हो ।
भीजी मोटर्स व्यावसायिक विद्युतीय सवारी साधनको आयात, बिक्री वितरण तथा बिक्रीपछिको सेवामा केन्द्रित छ ।
भीजीले नेपाली बजारको लागि ११ देखि २३ सिटे मिनी र माइक्रो भ्यानहरूको आवश्यकतालाई पूरा गर्दै आएको छ। एसआरएम ब्राण्डका ११ सिटे विद्युतीय भ्यानको सफल बिक्रीपछि कम्पनीले जोइलङ्ग ब्राण्डको १७ देखि २० सिटे विद्युतीय सवारी साधनहरू नेपाल ल्याउन लागेको हो ।
जोइलोङ्ग अटोमोबाइल चीनको ठूला व्यावसायिक सवारी साधन निर्माता कम्पनी मध्ये एक हो। यसले आफ्ना उत्पादनहरु एशिया, मध्यपूर्व, दक्षिण अमेरिका, र अफ्रिकामा व्यापक रूपमा निर्यात गर्दै आएको छ ।
जोइलोङ्गको चीनमा रहेको कारखाना एकदम नै अत्याधुनिक एवं विशाल छ । जोइलोङ्गको अत्याधुनिक कारखानामा सवारी साधनको अनुसन्धान र विकास, बिक्री पश्चात सेवा, दक्ष तथा अनुभवी कामदार तथा प्राविधिक मार्फत ग्राहकका समस्या समाधान गर्दै आएको छ ।
सुरुमा भीजी मोटर्सले जोइलोङ्गका दुई मोडेल नेपाल ल्याउने छ । कम्पनीले ईए ५ र ईए ६ मोडल ल्याउन लागेको हो । ईए ५ मोडल १७ सिट क्षमताको हुनेछ । यसमा ६०.१ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले फुल चार्जमा ३०० किलोमिटरसम्म रेञ्ज दिन्छ ।
जोइलङ्ग ईए ६ मोडल २० सिट क्षमताको गाडी हो । यसमा ८६.१० किलोवाट आवरको ब्याट्री छ । यसलाई फुल चार्ज गदर्ता ४०० किलोमिटरसम्म चलाउन सकिन्छ । यी दुबै मोडल मंगलबारबाट सुरु हुने अटो शोमा प्रदर्शनी हुनेछन् ।
भीजी मोटर्सले अहिलेसम्म नेपालभर ४० वटा चार्जिङ स्टेशनहरू बनाएको छ । यस वर्ष थप ११० वटा चार्जिङ स्टेशन बनाउने कम्पनीले योजना अगाडि सारेको छ ।

