काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनामै दुई पाँग्रे सवारी साधनको आयातमा रौनक देखिएको छ । कोरोनापछि सुस्त बनेको दुईपाँग्रे अटो बजार पछिल्ला महिनाहरूमा क्रमशः लयमा फर्किन थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको २०८१ साउन महिनाको तथ्यांक अनुसार मोटरसाइकल आयात गत वर्षको तुलनामा झण्डै ७० प्रतिशतले वृद्धि भएको छ ।
विभागका अनुसार चालु आवको साउनमा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको छ । यो गत वर्षको साउनको तुलनामा ९ हजार ३४३ युनिट धेरै हो । गत वर्ष साउनमा १२ हजार युनिट दुईपाँग्रे आयात भएको थियो ।
अघिल्ला वर्षहरूमा सुस्ताएको दुईपाँग्रे बजार यो अघिल्लो वर्षदेखि विस्तारै गति लिएको देखिन्छ । नजिकिँदै गरेको नाडा अटो शोका कारण समेत मोटरसाइकलकको आयात वृद्धि भएको अनुमान गर्न सकिन्छ । भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ लाई लक्षित गरेर विभिन्न नयाँ ब्रान्डका साथै नयाँ नयाँ मोडलका मोटरसाइकल भित्रने क्रम बढ्दो छ ।
त्यस्तै, इलेक्ट्रीक तर्फ पनि चालु आवको पहिलो महिनामा आयात उल्लेख्य वृद्धि भएको देखिन्छ । अघिल्लो आवको पहिलो महिनामा ३७६ युनिट मात्र इलेक्ट्रीक दुईपाँग्रेको आयात भएकोमा यो आवको सोही अवधिमा ७५८ युनिट आयात भएको छ ।

