काठमाडौं । मारुती सुजुकीले सन् १९९९ मा बजारमा उतारेको वागेनआर अहिलेपनि चर्चामा रहेको मोडल हो । वागेनआर बजारमा आएको २० वर्ष पुरा भइसकेको छ ।
सन् १९९८ मा हुन्डाई मोटर्सले भारतमा उत्पादन गरेको पहिलो मोडल सेन्ट्रोलाई टक्कर दिन मारुती सुजुकीले वागेनआर उत्पादन गरेको हो । टल ह्याच डिजाइनमा आएको सेन्ट्रोले भारतीय बजारमा धमाकेदार सुरुवात गरेपछि मारुतीले टल ह्याच डिजाइनमा वागेनआर बजारमा ल्याएको हो ।
भारतीय बजारमा प्रबेश गरेसँगै वागनेरले वर्षभरि बिक्री हुने उत्कृष्ट १० मोडल भित्र पर्न सफल भइरहेको थियाे ।

सन् १९९९ को डिसेम्बरबाट बजारमा आएको यो कारमा रहेको क्याविन स्पेशले धेरैलाई लोभ्याएको थियो । टल ह्याच डिजाइन भएका अग्ला मानिसको रोजाइमा वागेनर पर्न थालेको थियो ।
मारुती सुजुकीले यसमा सुरुवातमा नै पावर स्टेरिङ, पावर विन्डो जस्ता फिचर प्रदान गरेको थियो । यसमा १०६१ सीसी क्षमताको इन्जिन दिइएको थियो उक्त इन्जिनले ६७ पीएसकाे पावर र १२.९ किलोमिटर प्रतिलिटर माइलेज दिन्थ्यो ।
बजारमा आएको करिब ४ वर्षपछि वागेनआरको फेसलिफ्ट मोडल बजारमा आएको थियो । नयाँ फेसलिफ्ट मोडलमा ग्रिलमा क्रोम र बडी कलर बम्पर मुख्य आकर्षण रहेको थियो । साथै, यसको टेल ल्याम्पमा पनि परिमार्जन गरिएको थियो । यसको ड्यासबोर्ड पनि निकै ठूलो थियो । टु स्पोक स्टेरिङ ह्वीलको प्रयोग गरिएको थियो । यसबाटै एसी र हिटरलाई कन्ट्रोल गर्न सकिन्थ्यो ।
सेकेन्ड जेनेरेशन मोडल
वागेनआरको सेकेन्ड जेनेरेशन मोडल सन् २०१० मा बजारमा आएको थियो । उत्पादन सुरु भएको १० वर्ष पुराभएपछि मात्रै कम्पनीले सेकेन्ड जेनेरेशन मोडल बजारमा ल्याएको थियो ।

नयाँ जेनेरेशन वागेनआर कम्पनीको नयाँ प्ल्याटर्फम र नयाँ इन्जिनको साथ बजारमा आएको थियो । यसका ९९८ सीसी क्षमताको केबी१० इन्जिन दिइएकोे थियो । उक्त इन्जिनले ६२ पीएस पावर प्रदान गथ्र्यो भने माइलेज पहिलेको तुलनामा निकै बढेको थियो । नयाँ जेनेरेशन वागनआरले प्रतिलिटर १८.९ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको थियो । वागेनआरको नयाँ जेनेरेशन पछि मारुती सुजुकीले भारतमा ‘कित्ना देति हैं’ क्याम्पेन सार्वजनिक गरेको थियो ।
सेकेन्ड जेनेरेशन वागेनआरमा पहिलो पटक एयरव्याग, एबीएस, डिफगर, फगल्याम्प जस्ता फिचर समावेस गरिएको थियो ।
सन् २०१३ मा कम्पनीले वागेनआरको फेसलिफ्ट मोडल बजारमा ल्याएको थियो । यसमा छोटो ग्रिल, रिडिजाइन बम्पर, ठूलो भेन्टस, नयाँ फगल्याम्प र इन्जिनले निकाल्ने आवाज क्याविनमा कम आउने बनाएर ल्याएको थियो ।
यसको इन्टेरियरमा ड्यूल ग्लोबबक्स, म्यानुयल डे-नाइट आइआरभीएम, इगल विङ्स म्यूजिक सिस्टम, यूएसबी पोर्ट जस्ता फिचर प्रदान गरेको थियो । यसको अटोमेटिक भेरियन्ट भने कम्पनीले सन् २०१५ मा बजारमा ल्याएको हो ।
सन् २०१३ मा कम्पनीले वागेनआर ‘स्टिङग्रे’ भेरियन्ट बजारमा ल्याएको थियो । निकै मस्कुलर देखिने यो मोडलमा धेरै क्रोम फिनिसिङ दिइएको थियो । साथै यसमा सेग्मेन्टमा नै पहिलो प्रोजेक्टर हेडल्याम्प, गन मेटल ग्रे आलोय ह्वील, रुफ माउन्ट रियर विङ जस्ता विशेषता समेटिएको थियो ।
यसको क्याविन पनि पुरै कालो कलर थेममा सजाइएको थियो । लेदर र्याप स्टेरिङ ह्वील, स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, व्यू व्यागराउन्डमा इन्ट्रुमेन्ट क्लष्टर जस्ता विषेशता यसमा पाउन सकिन्थ्यो ।
द विग न्यू वागेनआर
कम्पनीले यसअघि एउटा मात्रै इन्जिन अप्सनमा उपलब्ध गराएको यो कारको द विग न्यू वागेनआरलाई दुई इन्जिन अप्सनमा उपलब्ध गराएको छ । जसमा १.० लिटर थ्री–सिलिन्डर परिमार्जित र १.२ लिटर फोर–सिलिन्डर इन्जिन पहिलेभन्दा पावरफुल रहेको छ ।

यसमा दिइएको ९९८ सीसी क्षमताको इन्जिनले ६७ बीएचपी र ९० एनएम टर्क जेनेरेट गर्नेछ । त्यस्तै, १.२ लिटर इन्जिनले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । मालेजको मामलामा यो गाडी निकै कमालको रहेको छ । १.० लिटर इन्जिनयूक्त मोडलले प्रतिलिटर २२.५ किलोमिटर माइलेज प्रदान गर्छ भने, १.२ लिटर इन्जिनले २१.५ किलोमिटर माइलेज प्रदान गर्ने एआरआई सटिफाईड रहेको छ । नयाँ कार पहिलो पटक एएमटी गियरबक्समा पनि आएको छ भने ५ स्पीड म्यानुयल गियरबक्समा समेत उपलब्ध रहेको छ ।
यसमा राउन्ड अफ नोज इलिमेन्ट, एरो सेप हेडलाइट र स्पोर्टिचिन विल आर्कको विशेषता दिइएको छ । यसमा दिएको सी पिलर र फ्लटिंग रुफले कारलाई थप आकर्षक बनाएको छ । अल न्यू वागेनआर पनि टलबोय लूक्समा उपलब्ध रहेको छ । यसमा आकर्षक हेडल्याम्पका साथै आधुनिक टेलल्याम्प लगाइएको छ ।
कारको इन्टेरियरमा पनि निक्कै आकर्षक विशेषताहरु दिइएको छ । यसको क्याबिन डिउल टोन ब्लाक एन्ड बिज थिममा तयार पारिएको हो । डिजिटल टेकोमिटर आकर्षक डिजाइनमा सजिएको ड्याशबोर्ड, फेसिका, जोयन्ट टी एंगलमा रहेको सेन्टर कन्सोल यसका महत्वूर्ण विशेषता हुन् ।
यसमा ३४१ लिटर बुटस्पेश, लार्जर ग्लोबबक्स, साइजेबल डोर पकेट, नयाँ स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टमको विशेषताले कारलाई निकै आर्कषक बनाएको छ ।
यसमा ७.० इन्चको नयाँ टचस्क्रिन इन्फोटेन्मेन्ट लगाइएको छ भने एन्ड्रोइड अटो, एप्पल कार प्ले यसका थप विशेषता हुन् । यसमा ड्राइभर साइड एयरब्याग, रियर पार्किङ सेन्सर, एन्टी लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षा फिचर दिइएको छ ।
नेपालमा पनि २० वर्ष पूरा
नेपालको लागि मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले सुरुवातदेखि कै सबै मोडलहरु नेपालमा बिक्री गर्दै आएको छ । यस्तो नयाँ वागेनआरको अहिले बिक्री वितरण हुँदै आएको छ ।
नेपाली बजारमा पनि सफल मोडलमा पर्ने वागेनआरको १.० लिटर भीएक्सआई (अप्सनल) मोडलको बिक्री मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ, भीएक्सआईको मूल्य भने २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै टप भेरियन्ट जेडएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


