काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्रायलकै गाडीमा साङ्लो लगाएको छ । अनधिकृत रुपमा पार्किङ गरेर राखिएको गृहको गाडीमा बुधबार प्रहरीले ह्वील लक गरेको हो ।
अनामनगर क्षेत्रमा अनधिकृत पार्किङ गरेर राखिएको गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो । सह–सचिव सुवेदीले प्रयोग गर्दै आएको सरकारी बा २ झ ४३८८ नम्बरको गाडी ट्राफिकले कारबाही गरेको हो ।
काठमाडौंको पार्किङलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय कडाई गर्दै आएको छ । जथाभावि पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले १ हजार रुपैयाँ जरिवाना लिँदै आएको छ ।
काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा हुने पार्किङलाई निरुत्साहीत गर्न भन्दै जथाभाबी पार्किङ गरे १० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव आर्थिक विधेयकमा गरेको छ ।
महानगरले जथाभावी पार्किङ गर्ने मोटरसाइकललाई १ हजार, ३ पांग्रे सवारीलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै, १ हजार सीसी क्षमताको चारपांग्रे सवारीलाई २५ सय रुपैयाँ, १ हजार सीसीदेखि १५ सय सीसी क्षमता भएका सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना लगाउने भएको हो । १५ सय सीसीदेखि २२ सय सीसीसम्मका सवारीलाई ७ हजार रुपैयाँ र २२ सय सीसी क्षमताभन्दा माथिका सवारी साधनलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने विधेयकमा उललेख गरिएको छ ।
फोटोः दिपेश प्रसाईको फेसबुकबाट


