सुन्दर, आर्कषक र स्टाइलिस मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी यामाहाले गोर्डन मुर्रे डिजाइनसँगको सहकार्यमा निर्माण गरेको कन्सेप्ट कार तत्काल सार्वजनिक नहुने भएको छ । कम्पनीले यसअघि यामाहा ‘मोटिभ र स्पोर्ट राइट’ कन्सेप्ट कारलाई केही दिनअघि जापानको टोकियोमा भएको ६४ औं टोकियो मोटर शो २०१९ मा प्रदर्शन गर्ने तयारी गरेको थियो ।
विशेष कारणवस यी दुई कन्सेप्ट कार सार्वजनिक गर्न नसकेको यामाहले यसलाई मुर्रे आइ स्ट्रेम प्रोडक्शन प्रणालीमा आधारित रहेर तयार गरेको थियो । कार्बन फाइबरबाट बनाइएका यी कन्सेप्ट कारमा १.० लिटर टर्बाेचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ ।
दुबै कारमा समान इन्जिन लगाइएको कम्पनीले जनाएको छ । स्पोर्ट मोडलले अधिकतम १०० बीएच पावर प्रदान गर्ने जनाइएको छ । कम्पनीले सुरुवातमा एक हजार यूनिट कार उत्पादन गर्ने र त्यसको प्रतिक्रियापछि ३ लाख ५० हजार यूनिट कार आइ स्ट्रिम प्रणाली अनुसार निर्माण गर्ने लक्ष्य कम्पनीले बनाएको छ ।

यामाहा मोटर कम्पनीका सूचना अधिकारी नाओतो होराइले स्पोर्टकारप्रति विशेष रुचि राख्नेहरुलाई मध्यनजर गर्दै कम्पनीले कन्सेप्ट कार निर्माण गरेको भएतापनि तत्काल त्यसलाई बाहिर ल्याउन नसकेको जानकारी दिए ।
उनले निकट भविष्यमा उक्त ड्रिम प्रोजेक्टलाई कम्पनीले अगाडि बढाउने र उक्त प्रडक्टले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे ।


