मोटरसाइकल आयातमा यामाहाको ‘कमब्याक’, स्कुटरमा के गर्दैछ ?

काठमाडौं । मोटरसाइकल तथा स्कुटरको आयातमा व्यापक सुधार देखिँदा यामाहाको आयातमा पनि ठूलै बढोत्तरी भएको छ । यामाहाको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू राइडले सन् २०२५ मा मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि गरेको हो ।

सन् २०२५ (जनवरी १-डिसेम्बर १५)मा कम्पनीले विभिन्न ९ मोडलका मोटरसाइकल तथा स्कुटर गगरी कुल ३२ हजार ५२९ युनिट नेपाल ल्याएको भन्सार तथ्यांकमा देखिन्छ ।

जसमा कम्पनीको सर्वाधिक सफल एफजेड सिरिजको आयात झण्डै दोब्बरले बढेको छ । कुनै पनि सिरिजको आयात दोब्बर बढ्नु भनेको कम्पनीको आयातमा यापक सुधार हुनु नै हो ।

कम्पनीले सन् २०२४ मा एफजेड सिरिजका मोटरसाइकल ८ हजार ६५६ युनिट आयात गरेकोमा सन् २०२५ मा बढेर १४ हजार १६६ युनिट पुगेको छ ।

जापानी ब्राण्डले सन् २०२५ मा एफजेड भी टू ८ हजार ३१८ युनिट र एफजेड एस/एक्स ५ हजार ७४० युनिट नेपाल ल्याएको हो ।

त्यस्तै, यामाहाका अन्य मोटरसाइकल मोडल डब्लूआर १५५ आर २१६ युनिट, एमटी १५ मोटरसाइकल १ हजार ५० युनिट, आर १५ मोटरसाइकल ८० युनिट र सलुटो १ हजार ६४० युनिट आयात भएको देखिन्छ ।

मोटरसाइकलमा एफजेड सिरिज यामाहाको सबैभन्दा धेरै आयात भएको मोडल हो । स्कुटर सेग्मेन्टमा भने रेजेड आर सबैभन्दा धेरै आयात भएको छ । अझ भनौं अन्य मोडलका स्कुटर आयात नै भएको छैनभन्दा हुन्छ ।

सन् २०२५ मा रेजड आर १२५ स्कुटर १५ हजार ३३५ युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । फसिनो स्कुटर त बन्द नै भएको देखिन्छ । त्यस्तै १५५ सीसी क्षमताको एरोक्स स्कुटर भने १५० युनिट आयात भएको देखिन्छ ।


Back_to_top