काठमाडौं । नेपालका युवाहरुको रोजाईमा स्पोर्टस् बाइक पर्न थालेको दशकौं भएको छ । महंगो मूल्यको कारण चाहना राख्ने सबैले स्पोर्टस् बाइक चढ्न नपाएपनि विगत १५ वर्षदेखि यामाहाले आर १५ को माध्यमबाट धेरै युवाको रहर पुरा गर्दै आएको हो ।
जापानी मोटरसाइकल निर्माता यामाहाले सन् २००८ बाट उत्पादन सुरु गरेको आर १५ मोडल निकै सफल मोडल मानिन्छ । यामाहाको स्पोर्टस् बाइक आर सिरिज अन्तर्गत उत्पादन भएको सबैभन्दा कम क्षमतको यो मोटरसाइकल अहिले नेपालमा ३ फरक अप्सनमा छनोट गर्न सकिन्छ ।
सुरुमा नेपाल आउँदा आर १५ को मूल्य २ लाख ८० हजार रुपैयाँ थियो । पहिलो जेनेरेशन मोडल करिब ३ वर्ष विक्री भएपछि थप भर्सन आउन थालेको हो । अहिले यसको चौथो भर्सन बजारमा विक्री हुँदै आएको छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले यसको एम सिरिज समेत नेपाल ल्याएर विक्री सुरु गरेको छ ।
निकै सानो १५५ सीसी क्षमताको इन्जिन दिइएको आर १५ एम मोडलको मूल्य ५ लाख ९९ हजार ९०० निर्धारण गरेर विक्री गर्दै आएको हो । इन्जिन अनुसार मूल्य महंगो लागेपनि नेपालमा पाइने उत्कृष्ट स्पोर्टस् बाइकको रुपमा यसलाई लिन सकिन्छ ।
यामाहा आर १५ एम मोडलको अलावा भी थ्री र भी फोर मोडल पनि नेपालमा उपलब्ध रहेको छ । कम्पनीले आर १५ भी थ्रीको मूल्य ५ लाख २५ हजार रुपैयाँ र भी फोरको मूल्य ५ लाख ७५ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
यामाहाले आर १५ सिरिजका तीनवटै मोटरसाइकलमा धेरैजसो फिचर समान दिएको छ । तीनवटै मोडलमा समान १५५ सीसी क्षमताको लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकत १८.४ पीएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ६ स्पीड गियरबक्स जडान भएको छ ।
विशेषगरी स्पोर्ट बाइक भएकै कारण यसमा अन्य प्रिमियम स्पोर्टस् बाइकमा जस्तै फिचरहरु पाउन सकिन्छ । यूएसडी फर्क, क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, स्मार्ट कनेक्ट, एबीएस जस्ता फिचरले यसको मूल्यलाई महंगो बनाएको हो ।

