काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी मारुती सुजुकीले ३ करोड युनिट उत्पादन पुरा गरेको छ । कम्पनीले उत्पादन थालेको ४२ वर्षपछि ३ करोड युनिट उत्पादन पुरा गरेको हो ।
भारतीय कम्पनी मारुती र जापानी ब्राण्ड सुजुकी मिलेर स्थापना भएको मारुती सुजुकीले पहिलो पटक सन् १९८३ मा ‘मारुती ८००’ मोडल उत्पादन गरेको थियो । कम्पनीसँग अहिले १९ मोडलका १७० भरियन्ट बिक्रीको लागि उपलब्ध छन् ।
इन्डो जापानी ब्राण्डले पहिलो १ करोड कार बिक्री गर्न २८ वर्ष लगाएको थियो । सन् २०१२ मा मात्रै मारुती सुजुकीको १ करोड युनिट बिक्री पुरा भएको हो । त्यतिबेला कम्पनीको सर्वाधिक चर्चाको मोडल मारुती ८०० थियो । मारुती ८०० मोडल कम मूल्य, किफायती र लामो आयु भएको मानिन्छ ।
सन् २०१२ मा एक करोड युनिट पुरा गरेको कम्पनीले अर्को एक करोड युनिट बिक्री केबल ७ वर्ष ५ महिनामा पुरा गरेको थियो । मारुती सुजुकीले सन् २०१९ जुलाई महिनामा २ करोड युनिट बिक्री पुरा गरेको थियो ।
त्यो समय भारतीय कार बजारमा ह्याचव्याकको सबैभन्दा ठूलो बजार थियो । त्यतिबेला अल्टो के१०, वागेनआर, स्वीफ्ट, रिट्ज, सेलेरियो, एस्टार र इग्नीस जस्ता ८ वटा ह्याचव्याक मोडल मारुती सुजुकीसँग थियो ।
कम्पनीले अर्को एक करोड युनिट बिक्री पुरा गर्न केबल ६ वर्ष ४ महिना लाग्यो । नोभेम्बर २०२५ मारुती सुजुकीको लागि तीन करोड उत्पादन बिक्री भेट्टाउन सफल महिनाको रुपमा आयो । अहिले कम्पनीको प्रोडक्ट लाइनअपमा भएका मोडल पनि परिवर्तन भए ।
कम्पनीले फ्रङ्स, ब्रेजा, ग्राण्ड भिटारा, जिम्नी, एक्सएल७ जस्ता क्रसओभर र एसयूभी मोडलहरु अहिले धेरै बिक्री गर्छ ।
मारुती सुजुकीले पछिल्लो ४२ वर्षको यात्रामा सबैभन्दा धेरै ४७ लाख युनिट अल्टो बिक्री गरेको छ । कम्पनीको दोस्रो धेरै बिक्री भएको मोडल वागेनआर ३४ लाख र तेस्रो धेरै बिक्री भएको स्वीफ्ट मोडल ३२ लाख युनिट बिक्री भएको छ ।
नेपालमा अवस्था परिवर्तनको खाँचो
भारतमा मारुती सुजुकीको लोकप्रियता सबैभन्दा अगाडि देखिएपनि नेपालमा त्यस्तो छैन । खासगरी, विद्युतीय कारको बिक्री बढ्दै जाँदा सुजुकीको बजार हिस्सा निरन्तर ओरालो लागिरहेको छ ।
यस्तोमा मारुती सुजुकीले छिट्टै बजारमा ल्याउने पहिलो इलेक्ट्रीक एसयूभी ई भिटार नेपालमा बिक्री थाल्ने योजना बनाएको छ । आधिकारीक बिक्रेता सिजी मोटोकर्पले सन् २०२६ को सुरुवातबाट ई भिटारा नेपालमा बिक्री थाल्नेछ ।

