काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी ४ महिनादेखि बन्द छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल-चीन जोड्ने १०० मिटर लामो मितेरी पुल बगाएसँगै दुई देश बीचको व्यापार ठप्प भएको हो ।
रसुवागढीबाट वार्षिक ९० अर्ब बढीको व्यापार हुँदै आएको छ । चीनबाट विद्युतीय सवारी ल्याउने यो प्रमुख नाका समेत हो । सिगात्सेबाट नेपाल आउन सबैभन्दा छोटो दुरी पर्ने भएकाले व्यवसायीले यही नाका हुँदै ईभी लगायत सामान आयात गर्छन् । तर, अहिले उक्त नाका बन्द हुँदा विकल्पमा तातोपानी र कोरला नाकाबाट ईभी आयात गरिरहेका छन् ।
४ महिनादेखि बन्द रसुवागढी नाका कहिले खुल्छ भन्ने अझै टुंगो छैन । यसअघि तिहारपछिदेखि नाका खुल्ने बताइए पनि चीनले बनाइरहेको बेलिब्रिज लच्किएपछि पछि धकेलिएको हो । चिनियाँ पक्षले साउन पहिलो सातादेखि निर्माण थालेको उक्त पुल जडान अन्तिम चरणमा पुग्दा कात्तिक पहिलो साता लच्किएको थियो । लच्किएको भागलाई सपोर्ट हुने गरी अहिले नयाँ पिलर बनाउने काम भइरहेको छ ।
उक्त नाका खुल्न अझै कम्तीमा दुई साता लाग्ने सरकारी अधिकारीहरू बताउँछन् । रसुवागढी भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार चिनियाँ पक्षले नोभेम्बर भित्रै पुल बनाइसक्ने बताएका छन् । अहिले लच्किएको भाग उचाल्न पिलर बनाइरहेको उनले बताए ।
‘यसअघि निर्माणको अन्तिम चरणमा पुगेको पुल बीचमा लच्कियो । अहिले चिनियाँले फेरि नयाँ पिलर बनाइरहेका छन्,’ उनले मरोअटोसँग भने, ‘हालै भएको बैठकमा उनीहरूले नोभेम्बर भित्रै निर्माण सम्पन्न गर्छौं भनेका छन् । चाँडै निर्माण सकिए मंसिर दोस्रो सातासम्म नाका खुल्ला ।’
उनले पुल संचालनमा नआएसम्म दुई देश बीचको व्यापार सुरू हुन नसक्ने बताए । ‘४ महिनादेखि दुई देशको व्यापार ठप्प छ । भन्सार कार्यालय खुला भए पनि पुल नहुँदा मालसामान आउन सकेको छैन,’ उनले भने, ‘अब पुल नबनेसम्म नाका खुल्दैन ।’
उनले बाढीले क्षति पुर्याएको भन्सार यार्ड सरसफाइ भइसकेको बताए । अहिले नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत मर्मतको काम चलिरहेको उनले बताए ।

यार्डमा विगतको जस्तो धेरै गाडी एकैपट ल्याएर राख्ने अवस्था नरहेको उनको भनाइ छ । ‘यार्ड बगाएकाले पहिलाको जस्तै धेरै गाडी राख्न सक्ने अवस्था छैन । आउने गाडीलाई सोही दिन वा भोलिपल्टै जाँचपास गरी पठाउने तयारी गरेका छौं,’ उनले भने ।
नाका बन्द हुँदा राजस्व प्राप्ति लक्ष्य समेत प्रभावित भएको छ । उनले यस वर्ष ४० अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखिएकोमा हालसम्म प्राप्ति शून्य रहेको बताए ।
चीनले बनाइरहेको बेलिब्रिज ९० मिटर लामो हुनेछ भने भारवहन क्षमता भने ५५ टन रहने छ । रसुवागढीमा बेलिब्रिज अस्थायी रूपमा संचलनमा ल्याउन लागिएको हो । सो ठाउँमा पक्की पुल चीनले नै बनाइदिने प्रतिबद्धता जनाएको छ ।
सडकको अवस्था कस्तो छ ?
अहिले काठमाडौंदेखि स्याफ्रुबेँसीसम्मको सडकको अवस्था ठिकै छ । स्याफ्रुबेँसी-रसुवागढी खण्डमा साना सवारी चले पनि ठूला कन्टेनर चल्न सक्ने अवस्था छैन ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका इन्जिनियर कुमार विक्रम पराजुलीका अनुसार गत असार र असोजमा आएको बाढीपहिरोले यस सडकको १८ बढी ठाउँमा क्षति पुर्याएको थियो । उक्त सडक अहिले मर्मत गरी संचालनमा ल्याइसकिएको उनले बताए ।
यद्यपि, ठूला कन्टेनर चलाउन केही ठाउँमा समस्या हुने देखिएको उनले बताए । ‘स्याफ्रु-रसुवागढी सडकमा अहिले सवारी साधन चलिरहेकै छन् । साना गाडी चल्न समस्या छैन । तर, तत्कालै ठूला कन्टेनर चलाउन केही समस्या हुने देखिएको छ,’ उनले मेरोअटोसँग भने, ‘अहिले साँघुरा र अफ्ठेरो ठाउँमा सुधारको काम जारी छ । चाँडै कन्टेनर पनि चल्न बनाइन्छ ।’
उनका अनुसार बालुवाखानीमा ग्रेड डाउन तथा लिङलिङ र कुलुङमा सडक फराकिलो बनाइने छ । यी ठाउँमा ढुंगा खसिरहने भएकाले जोखिम कायमै रहेको उनले बताए । अन्य ठाउँमा भने खासै समस्या नरहेको उनको भनाइ छ । त्यस्तै, बाढीले क्षति पुर्याएको कुलुङ पुलको फाउन्डेसन पनि मर्मत भइसकेको उनले बताए ।
स्याफ्रु-रसुवागढी सडक चीन सरकारले स्तरोन्नति गर्ने तयारी गरेकाले नेपालको तर्फबाट ठूलो काम नहुने उनले बताए ।

