काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्सको दुई भेरियन्टमा नेपाल आएको छ । कम्पनीले आज जिकर एक्सको अधिकतम खुद्रा मूल्य प्रकाशित गरेर गाडी नेपाल आएको जानकारी दिएको हो ।
सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो । कम्पनीले नेपाल ल्याएको टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी फोर ह्वील ड्राइभ भर्सनमाको मूल्य १ करोड ५९ लाख ९९ हजार तोकिएको छ । यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण हो ।
रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । कम्पनीका अनुसार ४४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।
जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घन्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।
एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग, पानारोमिक शनरुफ, डबल एज्ड डिआरएल, क्लोज अफ ग्रिल यसमा पाउन सकिन्छ । यसमा जिकरको इन्टेलिजेन्ट बी–पीलरको प्रयोग भएको छ । त्यसको सहायताले गाडीमा प्रबेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमा देखाउने छ ।
यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रूमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यसको भित्र पाउन सकिन्छ ।
जिकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ ।

