‘रिकन्डीसन हाउस’मा २० हजारमै पाइन्छ आकर्षक बाइक, यी हुन् धेरै खोजिने मोडल

काठमाडौं । फस्टाउँदो रिकन्डिसन व्यवसायले दुइपाँग्रे सवारी चढ्न चाहाने जो कोही उपभोक्तालाई सहज वातावरण बनाइदिएको छ । मोटरसाइकल/स्कुटर चढ्ने मानिसको संख्या वृद्धि भइरहेको समयमा रिकन्डीसन हाउसको दायर पनि बढ्दै गएको छ । 

हाल, उपत्यकामा मात्रै करिब एक हजारभन्दा बढि रिकन्डीसन हाउस संचालनमा छन् । यस्ता रिकन्डीशन हाउसले बाइक/स्कुटर चढ्ने सपना बुनेका तर नयाँ किन्न सक्ने आर्थिक अवस्था नभएकाहरुको लागि निकै सहज बनाएको छ ।

कम मूल्यमा बाइक किन्ने सोच बनाएका उपभोक्तालाई निक्कै सजिलो खरिद बिक्री स्थलको रुपमा रिकन्डीसन हाउसहरुले काम गरिरहेका छन् ।

यस्ता हाउसमा कुनैपनि ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद बिक्री गर्न सकिने छ । अहिले बजारमा २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको मूल्यमा बाइक तथा स्कुटर पाउन सकिन्छ । तर, करिब ५० हजारदेखि एक लाखसम्म खर्च गर्ने हो भने निकै राम्रो अवस्थामा रहेको दुई पाङ्ग्रे सवारीसाधन किन्न सकिन्छ ।

फस्ट ह्यान्ड बाइकजस्तै, रिकन्डीशन बजारमा पनि बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो कम्पनीका बाइक नै बढी खोजिने गरेको संचालकहरु बताउँछन् ।

प्रतिस्पर्धी बन्यो रिकन्डीसन बजार

झन्डै एक दशकदेखि मध्य बानेश्वरमा रिकन्डीसन हाउस चलाउँदै आएका राम गिरि पछिल्लो समय रिकन्डीसन बजार प्रतिस्पर्धी बनेको बताउँछन् । 

‘पछिल्लो पाँच वर्षयता रिकन्डीसन बजार निक्कै प्रतिस्पर्धी बनेको छ । रिकन्डीसन हाउसको संख्या दिनानुदिन बढ्दै गएको छ । संख्या बढेसँगै नाफाको दायर क्रमिक रुपमा घट्दै गएको छ’, गिरिले मेरोअटोसँग भने । 

संख्यात्मक रुपले धेरै प्रतिस्पर्धा हुँदा मूल्य केही बढी राख्यो भने त्यो साधन लामो समयसम्म बिक्री हुँदैन, बिक्री नै नभएपछि घाटा पर्नु स्वभाविक भएको गिरिको बुझाई छ । 

सोही स्थानमा १६ वर्षदेखि टाइम्स अटो संचालन गर्दै आएका राकेश मानन्धरको पनि उस्तै अनुभव छ । मासिक २२ ओटासम्म रिकन्डीसन बाइक/स्कुटर बेच्दै आएका मानन्धर, पछिल्लो समय व्यापार घट्दै गएको गुनासो गर्छन् । 

‘तुलनात्मक रुपमा बजार बिस्तार भैरहेता पनि, प्रतिस्पर्धा बढेकाले व्यापार र नाफा दुबै घटेको छ’ मानन्धरले भने । 

बढी खोजिने बाइक

ब्रान्ड न्यूमा जुन कम्पनीले धेरै मोटरसाइकल तथा स्कुटर बेच्छन् तिनै कम्पनीले दोस्रो बजारमा पनि प्राथमिकता पाउँछन् । अहिले पनि सबैभन्दा धेरै खोजिने बाइक बजाज हो भने स्कुटरमा होन्डा रहेको संचालकहरु बताउँछन् ।

त्यसैगरी यामाहा, टीभीएस र हिरोका बाइकको माग पनि बजारमा राम्रो रहेको छ । ग्राहकले बजाज एनएस २००, यामाहाको एफजेड, बजाजकै पल्सर २२०, पल्सर १५०, होन्डा डियो, टीभीएस अपाचे सिरिज लगायतका मोडल बढि खोज्ने गर्छन् । 

यसका अलवा रोयल इनफिल्ड ३५० खोज्ने ग्राहक धेरै हुने गरेको उनिहरुको भनाई छ । 

करिब १७ वर्षदेखि बानेश्वरमै रिकन्डीशन हाउस संचालन गर्दै आएका माधब उप्रेती प्रायः युवा उमेरका ग्राहकले रोयल इन्फिल्ड, बजाज, टीभीएस र यामाहाका बाइक खोज्ने गरेको बताउँछन् ।

प्रौढ अवस्थाका ग्राहकले होन्डाको सिबी साइन, युनिकर्न, स्प्लेन्डर जस्ता मोटरसायकल खोज्ने गर्छन् । यी बाइकको रिसेल भ्यालु बढि आउनुका साथै लामो समयसम्म टिक्ने गर्छ । 

बिक्रेता कम्पनीसँगको सहकार्य आवश्यक

तेज अटो इन्टरप्राइजेजका संचालक अन्जन कुमार श्रेष्ठ भने रिकन्डीसन बाइक बिक्रेता कम्पनी र दुइपाँग्रे सवारी बिक्रेता कम्पनीबीच सहकार्यको आवस्यकता रहेको बताए । यस्तो सहकार्यले व्यवसायमा सहजता ल्याउने भन्दै श्रेष्ठले रिकन्डिशन व्यवसायी संघले रिकन्डीसन हाउसको व्यवस्थापनसँगै संचालनको नीति तथा नियम बनाउनु पर्ने बताए । 

हाल, मोटरसाइकल खरिद तथा बिक्रीको नीति भने रिकन्डिसन हाउस अनुसार फरक फरक रहेको छ । मार्जिन, फाइनान्सिङ, वारेन्टी ग्यारेन्टी, मूल्यांकनको प्रक्रिया प्रायः रिकन्डिसन हाउसबीच फरक हुने बिक्रेता हाउस बताउँछन् ।

कतिपय रिकन्डिसन हाउसले ग्राहकमार्फत मोटरसाइकल खरिद पश्चात् त्यसको अवस्था चेकजाँच तथा मेन्टिनेन्स गरि आकर्षक मूल्यमा बिक्री गर्ने गरेका छन् भने कतिपयले, ग्राहक र खरिदकर्ताबीचको मध्यस्तकर्ताको भूमिका मात्र निभाउने गरेका छन् ।

हाम्रो सल्लाह

तपाई रिकन्डिसन बजारमा गएर मोटरसाइकल किन्ने हो पहिला तपाईले गर्ने खर्च कति हो त्यसको निक्र्यौल गर्नु पर्छ । अहिले बजारमा केही हजार किलोमिटर मात्रै गुडेका मोटरसायकल पनि दोस्रो बजारमा आउने गरेको छ । त्यसैले पहिला तपाईले कति मूल्यको मोटरसाइकल किन्ने हो एकिन गर्नुहोस् ।

त्यसपछि कम्तीमा ५ वटा रिकन्डिसन हाउसमा जानुस् र आफ्नो बजेट अनुसारको बाइक हेर्नुस् । त्यसपछि आफ्नो बजेटमा मिल्ने र तपाईलाई मन परेको बाइक टेष्ट ड्राइभ गर्नुस् । सकेसम्म कुनै इन्जिनियर वा मेकानिक्सलाई एक पटक देखाउनुस् र आफुलाई मन परेको बाइक किन्नु होस् ।


Back_to_top