होन्डाले चिनियाँ बजारमा नयाँ इलेक्ट्रीक कार ‘भीइ–१’ सार्वजनिक गरेको छ । विभिन्न तीन भेरियन्टमा बिक्री हुने इलेक्ट्रीक कार ‘भीइ–१’ कम्बस्चन इन्जिन युक्त एसयूभी एचआरभीबाट प्रेरित रहेको छ । यसको सुरुवाति मूल्य २३ हजार २५० डलर अर्थात २५ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
उक्त नयाँ इलेक्ट्रीक एसयूभीले एक पटकको फुलचार्जमा ४०० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । यसमा दिइएको व्याट्रीमा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।
होन्डाले यो मोडललाई पहिलो पटक २०१८ को गोन्जाओ मोटर शोमा प्रदर्शन गरेको थियो । पाँच सिट क्षमताको यो मोडलमा एन्टी कोलिजन स्ट्रक्चर सहितको मल्टी एङ्गल ब्याट्री प्याक दिइएको छ ।
यस इलेक्ट्रीक एसयूभीको लम्बाई ४३०८ एमएम, १८२४ एमएम चौडाइ, १६२५ एमएम रहेको छ भने २६१० एमएमको ह्वीलवेश रहेको छ । यसमा एयरब्याग, एबीएस, इबीडीलगायतका विभिन्न आधुनिक विशेषतासँगै आकर्षक पावरट्रेन दिइएको कम्पनीको दाबी छ ।
स्पोर्ट इलेक्ट्रीक एसयूभीको रुपमा आएको यस मोडलको सेन्टरमा माउन्टेड ८ इन्चको एलसीडी टचस्क्रिन डिस्प्लेसँगै ब्ल्युटुथ कनेक्टीभिटी र लार्ज प्यानारोमिक सनरुफको फिचर दिइएको छ ।
यसमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । यो कार नेपाली बजारमा कहिलेबाट आउने छ भन्ने विषयमा अहिल्यै भन्नसक्ने अवस्था छैन ।


