काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले नयाँ डस्टरको नेपालमा बिक्री सुरु गरेको छ । रेनोले गत जुलाई ८ मा नै भारतीय बजारमा सार्वजनिक गरेको डस्टरको फेसलिफ्ट मोडलको ‘आरएक्सएस’ भेरियन्ट मात्र नेपाल ल्याएको छ ।
सन् २०१६ देखि नेपाली बजारमा डस्टर बिक्री वितरण हुँदै आएको छ । नेपालमा बिक्री सुरुभएपछि पहिलो पटक डस्टरको फेसलिफ्ट मोडल आएको हो । यस्तोमा पुरानो मोडलको तुलनामा फेसलिफ्टमा के कस्ता परिमार्जन गरेको छ त ? भन्ने जिज्ञासा हुनु स्वभाविक हो । त्यसैले यसमा भएको केही परिमार्जनलाई हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
एक्सेटियर
यसको एक्सटेरियरमा नयाँ प्रोजेक्टर हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रि-डिजाइन क्रोम फ्रन्ट ग्रिल, रि-डिजाइन फ्रन्ट बम्पर जस्ता परिवर्तन सहजै देख्न सकिने छ ।
रेगुलर मोडलको तुलनामा आकर्षक तरिकाले अगाडि र पछाडि स्किड प्लेट जोडिएको छ । यसमा दिइएको नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वीलले एसयूभीलाई निकै बोल्ड देखाएको छ ।
नयाँ इन्टेरियर
कम्पनीले पुरानोको तुलनामा नयाँ मोडलको क्याबिनमा प्रिमियम बनाउन कुनै कसर छाडेको छैन । यसमा दिइएको नयाँ स्टेयरिङ ह्वील, एङ्गुलर एसी भेन्ट, ब्राउन फ्रेब्रिक अपहोलस्ट्रीक, फक्स आल्मोनियम ट्रिम, क्रोम एन्ड ग्लस ब्ल्याक बिटजस्ता फिचर उपलब्ध रहेको छ ।
फेसलिफ्ट डस्टरमा कम्पनीले ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड अटो, एप्पल कार प्लेको फिचर दिइएको छ ।
अन्य फिचर
यस मोडलमा म्यानुयल एसी, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट आर्मेष्ट, इलेक्ट्रीकल्ली फोल्डेबल ओआरभीएमएस, रियर पार्किङ क्यामरा, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री र रियर वाइपरको विशेषता दिइएको छ ।
मूल्य
अहिले नेपालमा उपलब्ध फेसलिफ्ट मोडल आरएक्सएस भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अन्य भेरियन्ट भने क्रमिक रुपमा नेपाल ल्याउने जानकारी दिएको छ ।
इन्जिन
यसमा १४९८ सीसी क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ५६०० आरपीएममा १०५ बीएच पावर र ४००० आरपीएममा १४२ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

