गाडी चलाउँदा पेट्रोल बचाउने ५ तरिका

काठमाडौं । सवारीसाधन आम मानिसको लागि अति आवश्यक वस्तु भएको छ । अझ सार्वजनिक सवारीको एथेष्ट उपलब्धता नभएको हाम्रो जस्तो देशमा त झन् निजी सवारी बिना लामो समय काम गर्ने मानिसले आफ्नो काम पार लगाउन मुस्किल प्रायः छ ।

दुई पाङ्ग्रे होस् वा चार पाङ्ग्रे आफ्नो सामर्थ र चाहना अनुसार प्रत्येक घरमा कम्तीमा एउटा सवारीसाधन हुनेकुरा सामान्य भइसकेको छ । सवारीसाधन राख्नु भनेको नियमित खर्च बढाउनु पनि हो ।

दैनिक सवारीसाधन चढेर हिड्नको लागि इन्धन अत्यावश्यक र अनिवार्य हुन्छ । इन्धनको रुपमा साधारणतया पेट्रोल, डिजेल तथा इलेक्ट्रीक पावरको प्रयोग हुन्छ । इलेक्ट्रीक भेहिकलको प्रयोग हालैका वर्षमा उच्चरुपमा बढेता पनि अझै पनि सुरुको लगानी धेरै पर्ने भएकोले धेरैको पहुँचबाट बाहिर नै छ ।

त्यसैले पेट्रोल तथा डिजलबाट चल्ने सवारीसाधनहरुमा कसरी इन्धनको खपत कम गर्ने भन्ने विषयमा जानकारी दिने प्रयास यहाँ गरेका छौं ।

१. नियमित सर्भिसिङ गर्ने

सवारीसाधन भनेको मेशिनरी साधन हो । यसको नियमित मर्मत संम्भार हुनु जरुरी हुन्छ । नियमित मर्मत संभार गरेमा आफ्नो सवारी साधनको आवाज तथा रफ्तारमा नै फरकपन महसुस गर्न सकिन्छ ।

सबै सवारीसाधनमा उत्पादकले कुन समय वा कति किलोमिटरको यात्रापछि सर्भिसिङ गर्नु पर्नेछ भनेर युजर म्यानुअलमा लेखेर दिएको हुन्छ । सोही अनुरुप आफ्नो सवारीसाधनलाई कम्पनीको आधिकारीक सर्भिस सेन्टरमा लगेर सर्भिसिङ गर्नुपर्छ ।

सर्भिसिङ गर्दा लुब्रिकेन्ट र एयरफिल्टर अनिवार्य रुपमा फेर्नु पर्छ । आजकलका सवारी साधनहरु कम्युटराइज टेक्नोलोजीमा आधारित हुने भएकोले कम्प्युटरबाटै गाडीको स्वास्थ्य परिक्षण गर्न सकिन्छ । आवश्यक सुधारका उपाएहरु अपनाएर सवारीसाधन चुस्त दुरुस्त राख्न सकिन्छ । जसले इन्धनको खपत कम गराउने छ ।

२. टायर प्रेसर चेक गर्ने

सवारीसाधन र बाटो बीचमा रहेर यात्रालाई आरामदायी बनाउने मुख्य भूमिका भनेको चक्काको हो । चक्कामा रिम, ट्युव र टायर मुख्य पार्टस्को रुपमा रहेको हुन्छ । सवारीसाधनलाई आईडल रुपमा चलाउने हो भने सबै टायरमा हावाको प्रेशर उपयुक्त मात्रामा हुन जरुरी छ ।

हावा कम भएमा सवारीसाधन हल्लिने तथा बढी भएमा उफ्रने हुन्छ । त्यसकारण तोकिएको मात्रामा हावाको प्रेसर हुन जरुरी छ । हावाको प्रेसर उपयुक्त नभएमा इन्जिनलाई गाडी गुडाउन थप मिहिनत गर्नु पर्छ । फलस्वरुप सवारीसाधनको इन्धन खपत बढ्छ । धेरै जाडो वा गर्मीको मौशममा टायर प्रेशर प्रत्येक हप्ता चेक गर्दा उपयुक्त हुन्छ ।

३. उपयुक्त गियरमा चलाउने

आफ्नो सवारीसाधन चलाउँदा सधै उपयुक्त गियरमा चलाउनु पर्छ । सानो गियरमा राखेर धेरै स्पीड तथा ठूलो गियरमा राखेर कम स्पीडमा चलाउनु हुँदैन । जुन नम्बरको गियरको अधिक्तम तथा न्यूनतम स्पीड हो त्यति नै स्पीडमा चलाउन सक्यो भने इन्धनको खपत एकदमै उपयुक्त मात्रामा हुनेछ । आफ्नो सवारीसाधनको आरपीएमलाई सधै दुई हजारदेखि तीन हजारको बीचमा राखेर सवारीसाधन चलाउने प्रयास गर्नु पर्छ ।

सवारी चलाउँदा एक्कासी एक्सलरेट गर्नू हुँदैन । एकैपटक थ्रोटल दवाएर गाडी भगाउँदा इन्जिनले धेरै इन्धन जलाउने गर्छ । साथै ट्राफिक लाइट अथवा कसैलाई रोकेर कुर्नु पर्दा इन्जिन अफ गर्दा राम्रो हुन्छ । तर रोक्ने समय १ मिनेटभन्दा कम भएमा इन्जिन अफगर्दा फाइदा हुँदैन ।

४. सकेसम्म एसी नचलाउने

कारमा सवार हुँदा एसीको प्रयोगको बानीले पनि इन्धनको खपतलाई निर्धारण गर्छ । गर्मी महिनामा एसी चलाउँदा एसीको कम्प्रेसर चल्ने भएकोले थप इन्धनको जरुरत पर्छ । एसी चलाउँदा गाडीको इन्जिनको पर्फमेन्समा पनि गिरावट आउँछ ।

कतिपय चालकले कार चलाउँदा एकदमै चीसो बनाएर चलाउने बानी हुन्छ । यसोगर्दा इन्धनको खपत अत्याधिक बढ्ने हुन्छ । त्यसकारण सकेसम्म स्थिति अनुसार कारको झ्याल केही मात्रामा खोलेर पनि क्याविनको टेम्प्रेचर कम गर्न सकिन्छ ।

एसी चलाउनै परेपनि गाडीले सामान्य गति लिइसकेपछि मात्र चलाउनु उपयुक्त हुन्छ । यदि सुरुमै एसी अन गरेमा इन्जिनलाई गाडीको चक्का र एसीको कम्प्रेसर दुबैमा पावर दिनु पर्ने भएकोले धेरै मात्रामा इन्धन लाग्ने गर्छ ।

५. एक्कासी ब्रेक नलगाउने

आफ्नो सवारीसाधनलाई प्लान गरेर चलाएमा पनि इन्धनको खपत कम गराउन सकिन्छ । यदि केही अगाडि रोक्ने ठाँउ अथवा ट्राफिक छ भने टाढैबाट प्लान गरेर स्पीड कन्ट्रोल गरेमा कम इन्धनले पनि काम चल्छ ।

तिब्र गतिमा दौडिएको बेला एक्कासी ब्रेक लगाउँदा ब्रेक प्याड पनि छिटै खिइने तथा इन्धन पनि बेकारमा जल्ने हुन्छ, त्यसकारण निश्चित ठाँउमा रोक्नै छ भने टाढंैबाट गियर डाउन गर्दै विस्तार स्पीड कन्टोल गर्नू पर्छ । जसको कारण रोकिने बेलामा मात्र ब्रेक दवाए पूग्ने छ । तर अपर्झटको समयमा भने एक्कासी ब्रेक लगाउनुको सिवाय कुनै उपाय रहदैन ।


Back_to_top