काठमाडौं । होन्डा यूनिकर्न १५० अब सधैको लागि बन्द भएको छ । होन्डाले अब यूनिकर्न १५० र १६० दुबैकाे उत्पादन बन्द गरेर एउटै इन्जिनमा ल्याउने भएकाे हाे । तर, यो तत्काल भारतीय बजारमा मात्रै लागु हुनेछ, नेपाल लगायत निर्यात बजारमा भने यसको बिक्री हुने संभावना रहेकाे छ ।
कम्पनीले अब नयाँ यूनिकर्नमा बीएस ६ मापदण्ड अनुसारको फ्यूल इन्जेक्सन (एफआई) इन्जिन दिएर बिक्री सुरु गर्नेछ । कम्पनीले नयाँ यूनिकर्नमा १६२.७ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.९१ पीएस पावर प्रदान गर्नेछ ।
इन्जिन ठूलो लगाइएको भएपनि होन्डाले बिसी यूनिकर्न १५० को डिजाईनलाई निरन्तरता दिएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेकसहित आएको नयाँ यूनिकर्नमा सिंगल च्यानल एबीएस दिइएको छ ।
रेगुलर मोडल यूनिकर्न १५० होन्डाको निकै सफल मोडलको रुपमा रहेको थियो । कम्पनीले यो मोडललाई २५ लाख यूनिटभन्दा धेरै बिक्री गरेको थियो ।
नेपाली बजारमा केही समय बन्द गरिएको यूनिकर्न १५० पुनः बिक्री सुरु भएको छ । साथै यसलाई ग्राहकले पनि निकै रुचाइ रहेका छन् । यसको नेपाली बजारमा २ लाख ६१ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण भइरहेको छ ।
यदि नयाँ बीएस ६ मापदण्ड अनुसारको यूनिकर्न नेपाल आउने हो भने पुरानो तुलनामा निकै महंगो हुने अनुमान गर्न सकिन्छ । भारतमा पनि नयाँ यूनिकर्न पुरानोको तुलनामा १३ हजार भारु महंगो रहेको छ ।


