काठमाडौं । नेपाली भुगोल सुहाउँदो डर्ट मोटरसाइकलमा नेपालीहरुको आर्कषण बढ्दो रहेको छ । नेपाली बजारमा बिभिन्न ब्राण्डका डर्ट मोटरसाइकलहरु बिक्री वितरण हुँदै आएको छ । बिशेष गरेर अफरोड तथा एडभेन्चर राइडको मज्जा लिन मन पराउने ग्राहकहरुले डर्ट मोटरसाइकल रुचाउने गर्छन् ।
नेपाली बजारमा ३ लाख ८५ हजार मूल्यदेखि डर्ट मोटरसाइकल पाइने गर्छ । यस्तोमा आज हामी ४ लाख मूल्यमा आउने ४ डर्ट मोटरसाइकलको बारेमा जानकारी दिने छौ ।
१.यामाहा एक्सटीजेड १२५
यामाहाको एक्सटीजेड १२५ मा उपलब्ध फोर स्ट्रोक एसओएचसी एयर कुल्ड इन्जिनले ८ हजार आरपीएममा १२.५ बीएच पावर उत्पादन गर्छ । यसले, ६ सय आरपीएममा ११.५ एनएम टर्क उत्पादनको क्षमता राख्छ ।

यामाहा एक्सटीजेड १२५को रियरमा १८ र फ्रन्टमा २१ इन्चको टायर लगाइएको छ । यस्तै, फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रहेको यो बाइकको तौल ११८ किलोग्राम रहेको छ ।
यामाहा एक्सटीजेड १२५को लम्बाई २०९० एमएम , चौडाई ८३० एमएम र उचाई १११५ एमएम रहेको छ । २६० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यस बाइकमा ११ लिटर इन्धन क्षमताको ट्यांकी लगाइएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म सस्पेन्सन लगाइएको छ ।
लाइटवेटको यामाहा एक्सटीजेड १२५ मा किक र इलेक्ट्रीक स्टार्टको अप्सन दिएको छ । एनालग स्पिडोमिटर र ओडोमिटर लगाइएको छ । यसमा इन्डीकेटर, हेलोजन लाइट, आकर्षक टेलल्याम्पको विशेषता दिइएको छ ।
नेपाली बजारमा यामाहाको एक्सटीजेड १२५ को मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।
२. एक्सपल्स २००
यस्तै ४ लाख भित्र मूल्य रहेको अर्को मोटरसाइकल एक्सपल्समा २०० सीसी क्षमताको लिक्वीड कुल सिङ्गल सिलिन्डर, टु भल्भ इन्जिन रहेको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान प्रदान गर्छ । यसमा फाइभ स्पीड गियरबक्स जडान गरिएको छ ।

हिरो एक्सपल्स २०१९ मा ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ अवार्ड जित्न सफल भएको मोटरसाइकल हो ।
नेपालको लागि हिरोको आधिकारिक विक्रेता जनरल मार्केटिङ (एनजीम)ले यसलाई बजारमा बिक्री वितरण गर्दै आएको छ । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ ।
राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।
यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।
बाइकको अगाडि ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।
यसको अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
एनजीएम नेपालले यसलाई बजारमा ३ लाख ८५ हजार मूल्य निर्धारण गरेर बिक्री वितरण गर्दै आएको छ ।
३. रनर हक २००
बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हक २०० सीसी डर्ट बाइक नेपाली बजारमा बिक्री गरिरहेको छ । १९८.३ सीसी इन्जिन रहेको यो वाइकले ७५०० आरपीएममा १२.७ हर्स पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क प्रदान गर्छ ।

रनर हकको लम्बाई २ हजार ९० एमएम, चौडाई ८ सय ८० एमएम र उचाई १ हजार १८० एमएम रहेको छ । यसमा १ हजार ३६० एमएमको ह्वीलवेश दिइएको छ ।
उच्च ग्राउण्ड क्लियरेन्स् भएको हक मोटरसाइकलमा पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने विशेषता रहेको छ । यो बाइकको फ्रन्टमा गोल्डन करल यूएसडी फर्क तथा रियरमा मोनोसक रहेको छ । १३२ किलोग्रामको यो मोटरसाइकलको फ्रन्टमा तथा रियर दुबैमा डिस्क ब्रेक लगाइएको छ ।
मोटरसाइकलमा ह्वाइट र रेड पेन्ट सेम, डायमन्ड फेस हेडलाइट र सेमी डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
कम्पनीले यसको नेपाली बजारमा मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
४. भीआर १५०
हाडफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक डर्ट बाइक हो । नेपाली युवा माझ कुनै समय निकै चर्चामा रहेको यो मोटरसाइकल अहिले पनि सडकमा राम्रै संख्यामा गुडेको देख्न सकिन्छ ।

हाडफोर्ड कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा उपलब्ध गराएको छ । १४९ ओएचसी ४ स्ट्रोक इन्जिनमा उपलब्ध भीआरले अधिकतम १८.१ पीएस पावर प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
१२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ ।
२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।
इन्टरनेशनल मोटर्स प्रालिले बिक्री वितरण गर्दै आएको भीआर १५० को मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।


