काठमाडौं । यामाहा मास्टर अफ टर्कको नामले चिनिने मोटरसाइकल एमटी-१५ बीएस६ इन्जिनमा सार्वजनिक भएको छ । पहिलाे पटक कम्पनीले २०१९ मार्चमा भारतमा नयाँ माेडलकाे रुपमा सार्वजनिक गरेको यो मोटरसाइकल नेपालमा भने जुलाईको अन्तिम साता सार्वजनिक गरेको थियो ।
भारतीय बजारमा एक वर्षको अवधिमा २५ हजार यूनिट एमटी १५ बिक्री भएको कम्पनीले जनाएको छ भने नेपालमा करिब १३ सय यूनिट बिक्री भएको आधिकारीक बितरक एमएडब्ल्यू इन्टरप्राइजेजले जानकारी दिएको छ ।
बीएस ६ इन्जिनपछि एमटी १५ को मूल्य ४ हजार भारुले बढेको छ भने नेपालमा अहिले बीएस ४ इन्जिनयुक्त मोटरसाइकल मात्र उपलब्ध रहेको छ । क्रमिक रुपमा यामाहाले बीएस ६ मापदण्डको एमटी १५ ल्याउने छ । अहिले नेपालमा ४ लाख २९ हजार ९०० मूल्य निर्धारण गरेर बिक्री हुँदै आएको यो मोटरसाइकलको मूल्य करिब १२ हजार रुपैयाँले बढ्ने अनुमान गर्न सकिन्छ ।
बीएस ६मा अपग्रेड गर्दा यसको पावरमा केही गिरावट आएको छ । बीएस ४ इन्जिनले अधिकतम १९ बीएच पावर जेनेरेट गर्नेमा बीएस ६ इन्जिनले १८.२४ बीएच पावर जेनेरेट गर्ने छ ।
यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन भने हुने छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्ट्रुमेन्टल कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

