होण्डाको नयाँ इलेक्ट्रीक स्कुटर क्यूसी ३ बिक्री सुरू, रेन्ज १४५ किलोमिटर

काठमाडौं । होण्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर क्यूसी ३ सार्वजनिक गरेको छ ।

कम्पनीले भारतमा आफ्नो तेस्रो इलेक्ट्रीक दुईपाँग्रे मोडलका रूपमा क्यूसी ३ स्कुटर बिक्री सुरू गरेको हो । यसअघि भारतीय बजारमा होण्डाको क्यूसी १ र एक्टिभा ई स्कुटर उपलब्ध थियो ।

कम्पनीले होण्डाको नयाँ क्यूसी ३ स्कुटरको मूल्य १ लाख ३५ हजार भारु(एक्स शोरुम) तोकेको छ । होण्डाले क्यूसी ३ लाई दैनिक सहरी आवतजावतका लागि लक्षित पारिवारिक इलेक्ट्रिक स्कुटरका रूपमा बजारमा उतारेको हो ।

क्यूसी ३ होण्डाको इलेक्ट्रीक सेग्मेन्ट अन्तर्गतको अन्य दुई मोडल भन्दा एड्भान्स प्रविधिमा निर्माण भएको कम्पनीले जनाएको छ । यसमा क्यूसी १ को तुलनामा नयाँ ब्याट्रीप्याक दिइएको छ । जसले बढि रेन्ज प्रदान गर्छ ।

क्यूसी ३ मा ३ किलोवाट आवर क्षमताको फिक्स्ड ब्याट्री प्रयोग गरिएको छ । होण्डाका अनुसार स्कुटरले एकपटक फुलचार्जमा १४५ किलोमिटरसम्मको आइडीसी रेन्ज दिन्छ । यो हाल भारतीय बजारमा होण्डाका इलेक्ट्रीक स्कुटरमध्ये सबैभन्दा धेरै दाबी गरिएको रेन्ज हो ।

स्कुटरमा दिइएको ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २ घण्टा ४० मिनेट लाग्ने कम्पनीले जनाएको छ । कम्पनीले यसमा प्रयोग भएको मोटरको पावर र टर्क सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

त्यस्तै, स्कुटरमा ५ इन्चको टीएफटी डिस्प्ले होण्डा रोड सिंक, कनेक्टिभिटी सुविधा, टर्न-बाइ-टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, पूरा एलईडी लाइट, स्मार्ट की, टेलिस्कोपिक फ्रन्ट फोर्क, रियर ट्वीन सक अब्जर्बार, फ्रन्ट डिस्क र रियर ड्रमब्रेक लगायतका फिचरहरू पाइन्छ ।

पारिवारिक र दैनिक प्रयोगलाई सहज बनाउन स्कुटरमा ३२ लिटर क्षमताको अण्डर सिट स्टोरेज दिइएको छ ।


Back_to_top