आयो बेन्टलेको पहिलो ईभी ‘टोरकाल’, भी-८ इन्जिनको आवाज पाइने

काठमाडौं । वेलायती विलासी कार निर्माता बेन्टलेले ‘टोरकाल’ इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पहिलो विद्युतीय कारलाई प्रविधि र पावरको मिश्रण बनाएर ल्याएको हो ।

बेन्टलेले टोरकाल एसयूभीलाई पोर्श्र्चको विद्युतीय कायेन एसयूभी बनेको ‘प्रिमियम प्लेटफर्म इलेक्ट्रीक’मा बनाएको हो ।

कम्पनीले टोरकाल एसयूभीमा निकै ठूलो ११३ किलोवाट आवरको ब्याट्री प्रयोग गरेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ६०४ किलोमिटर डब्लूएलटीपी रेन्ज दिने जनाएको छ ।

अमेरिकी ईपीए मापदण्ड अनुसार करिब ४८३ किलोमिटर रेन्ज प्राप्त हुने कम्पनीको भनाइ छ । बेन्टलेले ८०० भोल्टमा विकास गरेको टोरकालले ४०० किलोवाटसम्मको डीसी चार्जिङ सपोर्ट गर्छ ।

कम्पनीका अनुसार पावरका हिसाबले टोरकाल अहिलेसम्मकै शक्तिशाली बेन्टले हो । यसले ८७६ एचपी पावर र १३४९ न्युटन मिटर टर्क उत्पादन गर्छ । टोरकाल यति तीव्र छ कि शून्यदेखि १०० किलोमिटरको टप स्पीड केबल २.८ सेकेण्डमा भेट्टाउँछ ।

अगाडि उज्यालो हुने हिराजडित ग्रिल, लामो अगाडिको भाग र पातलो एलईडी डे टाइम रनिङ लाइट दिइएको छ । पछाडिको भाग भने निकै सरल र सफा डिजाइनमा तयार गरिएको छ ।

भित्र घुमाउरो ओएलईडी डिस्प्ले छ । यसमा ‘डाइनामिक सिम्फोनी’ नामको कृत्रिम ध्वनि प्रणाली छ । वास्तविक बाजागाजाबाट तयार गरिएको यो ध्वनिले कम्पनीको परम्परागत भी-८ इन्जिनको आवाजको अनुभूति दिन्छ । आवाज नचाहने चालकले यसलाई पूर्ण रूपमा बन्द गरेर शान्त रूपमा चलाउन सक्छन् ।

मेरिनो ऊनबाट बनेका सिट सामग्री, दर्जनौँ कलरको प्रयोगबाट सजिएको इन्टेरियर छ । निकै आकर्षक र मनमोहक क्याबिको साथ आउने टोरकालको सुरूआती मूल्य करिब २ लाख ३० हजार अमेरिकी डलर तोकिएको छ ।


Back_to_top