काठमाडौं । सुन्दर यातायातले नागढुंगा नाकाबाट भित्रिने सवारीहरुलाई सेनीटाइज गर्ने भएको छ । कोरोना भाइरसका कारण मानिसहरु उपत्यका बाहिर जाने क्रम बढि रहेका बेला उपत्यका बाहिर कोरोना संक्रमण धेरैको संख्यामा भेटिन थालेको छ । जस कारण उपत्यका बाहिरबाट भित्रिने सवारीबाट उपत्यकामा पनि कोरोना बढ्न सक्ने भन्दै सुन्दरले नाकामै भित्रिने सवारीलाई सेनीटाइज गर्न सुरु गरेको हो ।
सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाका अनुसार आज बिहानै नाकामा सो कामको सुरुवात गरिएको छ । कोरोना रहेको अवधि भरी यस कामलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
सुन्दर यातायातले चन्द्रागिरी नगरपालीकासँगको सहकार्यमा यो काम सुरु गरेको हो । नगरपालीकाले विद्युत र पानीका लागि सुन्दर यातायातलाई सहयोग गरेको छ ।
पछिल्लो समय उपत्यकामा भित्रीने गाडीको संख्या एकदम न्यून रहेको छ । हाल ५ सय देखि ६ सयका हारहारीमा सवारी आवगन हुँदै आएको थापाले बताए । विगतमा सो नाकाबाट ५० हजारका हाराहारीमा सवारी आवतजावत गर्ने गर्थे ।
सुन्दर यातायातले २ लाख लगानीमा सो काम सुरु गरेको जनाएको छ ।

