काठमाडौं । गत शुक्रबार बिहान कलंकी नजिकै रविभवनमा भयानक दुर्घटना घट्यो । दुर्घटना आफैँमा अत्यन्त कहालीलाग्दो शब्द हो । त्यसमा पनि मानवीय क्षति हुनेगरी भएको दुर्घटनाको कारण यो निकै दर्दनाक थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङका टिकालाल गेलालको घटना स्थलबाट अस्पताल लाने क्रममा नै मृत्यु भएको थियो । कार चालक प्रमुख सेनानी शिखर जबरा अहिले पनि प्रहरी हिरासतमै छन् ।
दुर्घटनामा मृत्यु भएका गेलालले आफ्नो मोटरसाइकल तीव्रगतिमा चलाएकोे सीसी टिभी फुटेजमा देखिएको छ । कारको गति कति थियो भन्ने सीसी टिभी फुटेजबाट एकीन गर्न कठिन हुन्छ । यद्यपि कार चालकले आफ्नो कारमा ब्रेक लगाउँदा जसरी कारले दिशा परिवर्तन गरेको छ । त्यसलाई आधार मान्दा कार करिब ८५ देखि ९० किलोमिटर प्रतिघण्टाको रफ्तारमा थियो भन्ने अनुमान गर्न सकिन्छ ।
यस घटनामा मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा ज्यान गएको तथ्यलाई नकार्न नसकिए पनि सडक प्रयोगकर्ताको लापरबाही र सहायक सडकबाट आएको मोटरसाइकल चालकको गम्भीर गल्तीको कारण दुर्घटना भएको भन्ने निकर्षमा पुग्न कठिन छैन ।
लकडाउनको समयमा सडकमा सवारीचाप नहुनु र आफ्नो नियन्त्रणभन्दा बाहिरको स्पीडमा गाडी चलाउने गल्ती दुवै चालकले गरेका हुन् । यसमा पछि सरोकारवाला निकायले हेर्ला नै । तर, यस घटनामा कार चालक राणामाथि ज्यान मुद्दा चलाउने प्रहरीको सुरुवाति बयान नेपालको विद्यमान कानुनको विरुद्द रहेको छ ।
यस्तो छ कानुनी व्यवस्था
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१मा ज्यान मरेमा हुने सजायः (१) कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद हुनेछ ।
(२) कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(४) चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप २ हजार रुपैयाँ समेत जरिवाना हुनेछ ।
यो घटनामा कस्तो कसुर आकर्षित होला
यो घटनाको निष्पक्ष छानविन गर्ने जिम्ममा कालिमाटी प्रहरी वृतको हो । उक्त वृत्तले घटनाको छानविन गरी मुद्दा चलाउने छ ।
‘मानिसको ज्यान नै गएपछि मुद्दा चल्छ नै तर, कस्तो किसिमको मुद्दा लाग्छ भन्ने कुराको टुङ्गो अनुसन्धानको अन्तिम रिपोर्ट आएपछि मात्रै लाग्ने छ’, ट्राफिक प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठले मोरोअटोसँग भने ।
मोटरसाइकल चालकका गल्ती
मोटरसाइकल चालकले तीव्रगतिमा मोटरसाइकल चलाएका छन् । यो उनको पहिलो गल्ती हो । दोस्रो, उनले सहायक बाटोबाट मोटरसाइकल आएको देखेपछि आफ्नो मोटरसाइकल रोक्नु पर्ने थियो । तर, गलत लेनमा प्रवेश गरेर दुर्घटनालाई निम्त्याएका छन् ।
तेस्रो, सहायक बाटोबाट आएको मोटरसाइलले उनलाई अल्मल्याएको भए पनि आफ्नो मोटरसाइकल बाँयातिरै चेप्नु पर्ने थियो । तर अर्काको लेनमा प्रवेश गर्दा उनले ज्यान गुमाउनु पर्यो ।
सजग बनौं, नियन्त्रण गर्न नसकिने स्पीडमा सवारीसाधन नचलाऔं
नेपालमा सवारीसाधन चलाउँदा चालकले निकै सावधानि अपनाउनु पर्ने हुन्छ । धेरै घुमाउरा सडक, ट्राफिक लाइट र लाइन दुवैको कमजोर व्यवस्था, यात्रुमा जनचेतनाको कमी, चालकको हेपाह प्रवृति जस्ता कारण दुर्घटना हुने गरेका छन् भने तीव्रगति र कमजोर सडक पूर्वाधारको कारण पनि वर्षेनी हजारौंले ज्यान गुमाउनु परेको छ ।
त्यसैले सडकमा जुनसुकै सवारी साधन चलाए पनि सजकता अपनाउन सक्ने हो भने यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने छ ।


