अर्थमन्त्री खतिवडाकाे एउटा कदमले इभी बिक्रेताले मूल्यसूची नै छाप्न छाडे

काठमाडौं । सरकार चालु आर्थिक वर्ष २०७७/७८ को बजेटबाट इलेक्ट्रीक कारको मूल्यमा व्यापक वृद्धि गरेसँगै गाडी बिक्रेता कम्पनीहरुले इलेक्ट्रीक भेइकल (इभी) को मूल्यसूची नै प्रकाशन गरेनन् । यसले नेपालमा बिद्युतीय कार बिक्री गर्ने व्यवसायीको चाहना, ग्राहकको इभी चढ्ने सोच र सरकारको बिद्युतीय सवारीसाधन चलाउने नीतिमा नै गम्भिर धक्का लागेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले धनीले चढ्ने गाडी भन्दै थपेको करपछि आयातकर्ताले मूल्यसूची प्रकाशन समेत गरेनन् ।

अहिले हुन्डाई, किया, बीवाईडी र दिगो ग्रुपले ल्याएका गाडी भन्सार पारी आई पुगेका छन् । तर, अत्याधिक कर लगाईएकाले ती गाडी नेपाल ल्याएर तत्काल बिक्री गर्न सक्ने अवस्था नरहेकाले कम्पनीहरुले गाडी भन्सार पास गराएका छैनन् ।

बजारमा किया, हुन्डाई, बीवाईडी, एमजी, महिन्द्रा, दिगो ग्रुप लगायतका कम्पनीहरुले इलेक्ट्रीक कार बिक्री वितरण गरिरहेका थिए । तर, सरकारले अचानक इलेक्ट्रीक कारमा भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुरमा गरेको ठूलो वृद्धिले इलेक्ट्रीक कार बिक्री गर्नै नसकिने अवस्था आएको भन्दै कम्पनीहरुले मूल्यसूची नै प्रकाशन नगरेका हुन् ।

एमजी र महिन्द्राले बजेट अघि ल्याएको सबै इलेक्ट्रीक कारको डेलिभरी दिएको जनाएको छ । साथै, अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक कारको मूल्य अत्याधिक बढेकाले भन्सार पास गरेर नेपाल गाडी ल्याएका छैनन् ।

अहिले हुन्डाई, किया, बीवाईडी र दिगो ग्रुपले ल्याएका गाडी भन्सार पारी आई पुगेका छन् । तर, अत्याधिक कर लगाईएकाले ती गाडी नेपाल ल्याएर तत्काल बिक्री गर्न सक्ने अवस्था नरहेकाले कम्पनीहरुले गाडी भन्सार पास गराएका छैनन् ।

‘सरकारले इलेक्ट्रीक कारमा लगाएको कर अवश्यकता हेरेर घटाउने आश्वासन दिएको भएपनि कहिले र कति घटाउने भन्ने विषयमा निर्णय नलिएकाले कम्पनीहरु सरकारको निर्णय कुरेर बसेका हुन्’, एक अटोमोवाइल व्यवसायीले मेरोअटोसँग भने ।

उनका अनुसार सरकारले करको दरमा परिवर्तन नगर्ने हो भने ती गाडी बिक्री गर्न सक्ने अवस्था छैन । यस्तोमा नेपाल आउने क्रममा रहेका इलेक्ट्रीक कारहरु पनि अब नेपाल ल्याउन सक्ने अवस्था छैन ।

यसले इलेक्ट्रीक कार बिक्रीमा उत्साह छाएको नेपाली बजारलाई पुनः पछाडि धकेलिदिएको छ । बजेट अगाडि राम्रो संख्यामा इलेक्ट्रीक कार आयात भएकोमा बजेट पछाडि १ यूनिट मात्र आयात भएको छ ।


Back_to_top