काठमाडौं । बजाज र यामाहा एक अर्काका प्रतिस्पर्धी ब्राण्ड हुन् । नेपालमा बजाजको मोटरसाइकल सेग्मेन्टमा सबैभन्दा बढी बजार हिस्सा रहेको छ भने यामाहाले उसलाई पच्छाइरहेको छ ।
यामाहाले नेपालमा सर्वाधिक बिक्री गर्ने मोडल एफजेडएस भि थ्री हो । भने पल्सर १५० सबैभन्दा बढी बिक्री हुने मोडल हो । तर, यी दुई मोडलको बीचमा मूल्यमा ठूलो अन्तर रहेको छ ।
यस्तोमा यामाहा एफजेडएस भि थ्रीमा रहेका धेरै जसो फिचर बजाजको मोटरसाइकल पल्सर एनएस १६० मा पनि उपलब्ध रहेको छ । पल्सर एनएस १६० र यामाहा एफजेडएस भि थ्रीमा मुख्य फरक भने इन्जिनमा रहेको छ । यामाहाले एफआई इन्जिनको प्रयोग गरेको छ भने, बजाजले डिटिएसआई कार्बुरेटर इन्जिनको प्रयोग गरेको छ ।
बजाज पल्सर एनएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ भने यामाहा एफजेडएस भि थ्रीको मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ । यी दुई मोटरसाइकलमा पल्सर एनएस ३४ हजार रुपैयाँले सस्तो रहेको छ ।
कोरोनापछि कम्पनीहरुले ल्याएको अफरमा यी मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा सून्य प्रतिशत व्याजदरमा कर्जा पाउने छन् । यस्तो कर्जा यामाहामा १२ महिना भित्र तिर्नु पर्ने छ भने बजाजले १८ महिनालाई दिएको छ ।

यी दुबै मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक र एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) उपलब्ध रहेका छन् ।
यामाहा एफजेड भि थ्रीमा १४९ सीसी र पल्सर एनएसमा १६० सीसी क्षमताको इन्जिन रहेको छ । पल्सर एनएस १६० ले अधिकतम १५.१ बीएच प्रदान गर्छ भने एफजेड भि थ्रीले अधिकतम १३ बीएच पावर प्रदान गर्छ ।
पल्सर एनएस १६० मा १२ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ भने एफजेडएस भि थ्रीमा १३ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ ।
पल्सर एनएस १६० मा वेट मल्टीप्लेट क्लच दिइएको छ भने, एफजेड भि थ्रीमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । दुबैै मोटरसाइकलमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

चालकलाई सहज यात्रामा सहयोग पुर्याउन दुबै मोटरसाइकलको अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि एफजेड भि थ्रीमा स्वीङआर्म र पल्सर एनएस १६०मा निट्रोक्स मोनोशक सस्पेन्सन दिइएको छ ।
एफजेड भि थ्रीमा एलइडी हेडलाइट रहेको छ । उहि पल्सर एनएस १६० मा बल्ब टाइप एमएफआर हेडलाइट दिइएको छ । टेललाइट भने दुबैमा एलइडी रहेको छ ।
स्पीडो मिटर र ट्रीप मिटर दुबै मोटरसाइकलमा डिजिटल पाउन सकिन्छ । एफजेड भि थ्रीमा डिजिटल टेकोमिटर रहेको छ भने एनएस १६० मा एनालग रहेको छ ।
दुबै मोटरसाइकलमा फियुल गज, पिलियन सिट, पिलियन ग्राबरेल, घडी, ट्रीप मिटर काउन्ट, पासलाईट जस्ता समान विशेषता रहेका छन् ।


