दुई एसयूभी बजारमा ल्याउँदै मारुती सुजुकी, क्रेटालाई टक्कर दिन टोयोटासँग सहकार्य

काठमाडौं । मारुती सुजुकीले टोयोटासँगको सहकार्यमा नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी टोयोटा सिएचआरमा आधारित हुने अनुमान गरिएको छ ।

दुई जापानी ब्राण्ड टोयोटा र सुजुकीले गरेको सहमति अनुसार टोयोटाले भारतमा मारुती सुजुकीको दुई कार बलेनो र भिटारा ब्रेजालाई टोयोटाको ब्राण्ड नेममा बजारमा ल्याइसकेको छ ।

टोयोटाले मारुती सुजुकी बलेनोलाई ग्लान्जा नामबाट विक्री गर्दै आएको छ भने भिटार ब्रेजालाई ग्लान्जा नामबाट केहि महिनाअघि विक्री सुरु गरेको छ । यस्तोमा अब टोयोटाको सिएचआर क्रसओभर एसयूभी मारुती सुजुकी ब्राण्डमा भारतमा उत्पादन हुने कुरा बाहिर आएको छ ।

मारुती सुजुकीले यसको प्रडक्सन कोण नेम ‘डि२२’ दिएर उत्पादनको काम अगाडि बढाएको छ । यसलाई भिटारा ब्रेजाभन्दा माथि राखेर कम्पनीले बजारमा ल्याउने छ ।

यसलाई भारतमा टोयोटाको प्लान्टमा उत्पादनको काम अगाडि बढाइएको दाबी ‘टिम बीएचपी’ले गरेको छ । यसको साइज किया सेल्टोस, हुन्डाई क्रेटा, निसान किक्स जस्तै रहने छ ।

रिर्पोटमा आए अनुसार कम्पनीले यसलाई टु ह्वील र अल ह्वील ड्राइभ अप्सनमा बजारमा ल्याउने छ । यसमा कम्पनीले ब्रेजामा रहेको १.५ लिटर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहने छ ।

साथै मारुती सुजुकीले बलेनोको प्ल्याटफर्ममा नयाँ क्रसओभर एसयूभी पनि ‘वाइटीबी’ कोड नेममा तयार गरिरहेको छ ।


Back_to_top