नयाँ गाडी विक्रेता नै रिकन्डिसन गाडी व्यापारमा, ग्राहकलाई कति फाइदा

काठमाडौं । नेपालमा वार्षिक १० देखि १७ हजार यूनिटसम्म नयाँ गाडी विक्री हुने गरेको छ । तर, सेकेन्डह्याण्ड बजारमा भने वार्षिक २० हजारभन्दा बढी कारको विक्री हुने गरेको यातायात कार्यालयहरुको तथ्यांकमा देख्न सकिन्छ । रिकन्डिसन बजारमा हुने कारोवार रिकन्डिसन हाउसबाट भन्दा धेरै व्यक्ति–व्यक्ति बीच हुने गरेको पाइन्छ ।

यसले आफ्नो आवस्यकता पुरा गर्न मानिसले व्यक्तिसँगको सम्पर्कमा रहेर कार खोज्ने गरेको देखाउँछ । नेपालमा व्यवस्थित बाटोबाट पुराना गाडी विक्री गर्ने परिपाटीको विकास अझै हुन सकेको छैन । रिकन्डिसन हाउसबाट गाडी किन्दा पनि त्यसको मूल्य र मेकानिकल पाटर्सको विश्वसनियता बलियो बन्न सकेको छैन ।

नेपालमा अहिले करिब १ हजारको संख्यामा रिकन्डिसन हाउसहरु खुलेका छन् । तर, ती सबै रिकन्डिसन हाउसबाट ग्राहकले गाडी किन्दा त्यसमा लाग्ने कर, वारेन्टी, ग्यारेन्टी जस्ता कुनै सुविधा दिदैनन् ।

अर्कोतर्फ नेपालमा गाडी विक्री गर्ने विभिन्न ब्राण्डले आ–आफ्नै रिकन्डिसन हाउसहरु संचालन गर्न सुरु गरेका छन् । उनिहरुले संचालन गरेको रिकन्डिसन हाउसमा आफ्नै ब्राण्डका नयाँ गाडीसँग एक्सचेन्जमा आउने गाडीहरु धेरै हुने गरेको पाइन्छ ।

टाटाले सिप्रदी एस्योर्ड, हुन्डाईले एचप्रमिस, फोर्डले फोर्ड एस्योर्ड जस्ता कम्पनी खोलेर पुरना गाडीको व्यापारमा पनि हात हालेका छन् । यी कम्पनीले आफ्नै ब्राण्डका गाडीमा फाइनान्स सुविधा, सर्भिस सुविधा र बाँकी रहेको खण्डमा वारेन्टी समेत प्रदान गर्दै आएका छन् । यस्तोमा गाडी किन्ने मानिसले थप एस्योरेन्स पाउने उनिहरुको दावी छ ।

‘स्वतन्त्ररुपमा खुलेका रिकन्डिसन हाउसहरु तुलनात्मकरुपमा ग्राहकमैत्री हुन्छन् । ग्राहकलाई अफ्ठ्यारोपर्दा सहज भूमिकामा सधै रिकन्डिसन हाउसहरु रहने हुँदा ग्राहकको विश्वास धेरै रहेको पाउँछौ’, श्रेया अटोमोवाइलका संचालक सचिन कुईँकेलले भने ।

कुईँकेलका अनुसार यसरी स्वतन्त्ररुपमा खुलेका रिकन्डिसन हाउसहरुले आवस्यक पर्दा केहि रकम केहि दिनको लागि उधारो दिने, किनेको केहि दिन भित्र गाडी चित्त नबुझे फिर्ता लिइदिने जस्ता कार्यपनि गर्ने हुँदा ग्राहकले सहज महशुस गर्ने गरेका छन् ।

उता, आयतकर्ता ब्राण्डले खोलेका रिकन्डिसन हाउसले ग्राहकलाई नयाँ गाडी किन्नेले पाउने सुविधा प्रदान गर्ने कम्पनीहरुको भनाई छ ।

‘ग्राहकलाई विक्रीपछिको सेवा, प्रपर डकुमेन्टेशन र बील, फाइनान्स सुविधा, वारेन्टी जस्ता आकर्षक अफर गर्ने हुँदा ब्राण्डहरुले खोलेका रिकन्डिसन हाउसबाट ग्राहक ठगिने सम्भावना हुँदैन’, सिप्रदी एस्योर्डका ध्रुव रेग्मीले भने ।

उनका अनुसार दक्ष जनशक्तिबाट गाडी परिक्षण गरि खरिद विक्री गरिने हुँदा किन्ने र बेच्नेले नै आफ्नो उत्पादनको उचित मूल्य पाउने छन् । यसले नेपालमा रिकन्डिसन कारको बजारलाई सुदृढ बनाउने उनको तर्क छ ।

पछिल्ला दिनमा नयाँ गाडी विक्रेता ब्राण्डहरु नै रिकन्डिसन बजारमा प्रबेश गरेकाले रिकन्डिसन कार बजार थप पारदर्शी हुँदै अगाडि बढ्ने र स्वतन्त्ररुपमा संचालनमा रहेका रिकन्डिसन हाउसहरुले पनि आफ्नो सेवालाई पारदर्शी र थप ग्राहकमैत्री बनाउँदै जाने अनुमान गर्न सकिन्छ ।


Back_to_top