उस्तै मूल्यका दुई सस्ता कार, फिचरमा कति फरक

काठमाडौं । मारुती सुजुकी एस-प्रेसो माइक्रो एसयूभीको रुपमा सिजी मोटोकर्पले विक्री गर्दै आएको छ भने पायोनियर मोटोकर्पले डाट्सन रेडी गो फेसलिफ्ट मोडल नेपालमा विक्री गर्दै आएको छ । यी दुई कारको मूल्य, इन्जिन र अधिकांश फिचर उस्तै लाग्छन् । कम मूल्य र उच्च ग्राउन्ड क्लियरेन्स दुबै गाडीको प्रमुख विशेषता हो । कम पैसा खर्च गरेर नयाँ कार किन्न खोज्ने ग्राहकलाई यी दुई गाडीले आकर्षित गर्दै आएका छन् ।

सिजीले एस-प्रेसोलाई विभिन्न ४ भेरियन्टमा नेपाली बजारमा उपलब्ध गराएको छ । इन्ट्री भेरियन्टको रुपमा स्टायन्डर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस भेरियन्ट नेपालमा उपलब्ध रहेका छन् । तर, डाट्सन रेडी गो भने दुई भेरियन्टमा मात्रै उपलब्ध रहेको छ । पायोनियरले एएमटी र टी अप्सनल म्यानुयल भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ ।

रेडी गो म्यनुयल भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एएमटी भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यसैगरि एस-प्रेसोको स्टायन्डर्ड भेरियन्टको मूल्य २३ लाख ४९ हजार, एलएक्सआई भेरियन्टको २४ लाख ४९ हजार, भीएक्सआई भेरियन्टको २५ लाख ४९ हजार र भीएक्सआई प्लसको २५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एस-प्रेसो १.० लिटर क्षमताको के१०बी पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा ६८ पीएस पावर र ३५०० आरपीएममा ९० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गएिको छ । बीएस ६ मापदण्डको इन्जिन प्रयोग भएको एस-प्रेसोमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

रेडी गोमा पनि १.० लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा रहेको इन्जिनले पनि अधिकतम ५५०० आरपीएममा ६८ पीएस पावर र ४२५० आरपीएममा ९१ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स अप्सन उपलब्ध रहेको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

५ सिट क्षमताको सानो दुबै गाडीमा अगाडि भ्यान्टीलेटेड डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध रहेको छ । अगाडि एयरव्याग, एबीएस, रिभर्स पार्किङ क्यामेरा, पावर स्टेयरिङ्ग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम दुबै कारमा पाउन सकिन्छ ।


Back_to_top