काठमाडौं । पुरानो गाडी दिएर नयाँ इलेक्ट्रीक कार किन्न खोज्ने ग्राहकलाई लक्षित गर्दै दिगो ग्रुपले एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले ल्याएको एक्स्चेन्ज अफर चैत मसान्तसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
यसरी पुराना गाडीसँग नयाँ गाडी साट्न चाहने ग्राहकले दिगोको इलेक्ट्रीक कार इ८ खरिद गर्न सक्ने छन् । दिगो इ८ को मूल्य २४ लाख ९४ हजार रुपैयाँ रहेको छ भने यो सहरी क्षेत्रको लागि निकै राम्रो विकल्प रहेको छ ।
‘हामीले पुराना कम्बसचन इन्जिन युक्त गाडी इलेक्ट्रीकसँग फेर्न चाहने ग्राहकलाई ध्यानमा राखेर एक्स्चेन्ज मेला संचालनमा ल्याएका हौं । ग्राहकले निकै उत्साहपूर्ण तरिकाले यो अफरमा सहभागिता जनाउँदै छन्’, कम्पनीका सीइओ हेमन्त पुरेनिकले मेरोअटोसँग भने ।
उनका अनुसार कम्पनीले ग्राहकलाई १ लाख रुपैयाँसम्मको अफर दिएको छ । जसमा एक्स्चेन्ज बोनस र नगद छुट ग्राहकले पाउने छन् । वार्षिक कर नलाग्ने इ८ किन्ने ग्राहकले बीमा वापतको रकम भने आफैँ तिर्नु पर्ने हुन्छ ।
ग्राहकको सुविधाको लागि स्पट एक्स्चेन्ज र स्पट फाइनान्सको सुविधा दिइएको सीइओ पुरेनिकको भनाई छ ।
यस्तो छ दिगो इ८
दिगो इ८ मा सामान्यतया गाडीमा उपलब्ध हुने सबै किसिमका फिचर उपलब्ध रहेको छ । कम्पनीका अनुसार इ८मा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्पोर्ट र इको ड्राइभ मोड, पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन दिइएको छ । साथै, रियर क्यामेरा, पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभीएम जस्ता फिचर उपलब्ध रहेको छ ।
इ८ मा रहेको १५.२ किलोवाट आवर लिथियम आयोन फस्फेट ब्याट्रीले फुल चार्जमा सामान्य मौसममा १५० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा प्रयोग भएको मोटरले २० बीएच पावर र १८० एनएम टर्क प्रदान गर्छ । घरायसी बत्तीमा सजिलै चार्ज गर्न सकिने कारमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम समेत दिइएको छ ।


