काठमाडौं । स्कोडाले भारतमा उत्पादन गरेको कुशक अहिले धेरै चर्चा भइरहेको मोडल हो । कम्पनीले यसको ग्लोवल प्रिमियर गरेपनि विक्री भने सुरु गरेको छैन ।
फक्सवागन ग्रुपको २.० प्रोजेक्टमा आधारित कुशक ‘एमक्यूबी-ए जेरो-इन’ प्ल्याटफर्ममा उत्पादन भएको एसयूभी हो । यसले भारतीय बजारमा विशेषत हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यद्यपी यसको मूल्यले धेरै कुरा निर्धारण गर्ने छ ।
नेपालमा पनि साउन महिनाबाट विक्री सुरु गर्ने लक्ष्यको साथ एमएडब्लु इन्टरप्राइजेज्ले आफ्नो तयारी गरिरहेको जनाएको छ । एमएडब्लुले कुशकलाई नै मध्येनजर गरेर नेपालमा डिलर नेटवर्क विस्तार गर्ने तयारीसमेत गरिरहेको छ ।
यहि परिप्रेक्षमा ग्लोवल प्रिमियरमा देखिएको कुशक र अन्य विदेशी मिडियाले उल्लेख गरेको विषयलाई लिएर हामीले यसको खास विशेषताको विषयमा जानकारी दिने प्रयास गरेका छौं ।
फरक डिजाइन
ग्लोवल प्रिमियरमा देखिएको कुशक र कम्पनीले अटो एक्स्पो २०२० मा देखाएको कन्सेप्टमा खासै फरक छैन । अगाडि स्कोडाको टिपिकल ग्रिलमा क्रोम फिनिसिङ, ड्यूल हेडलाइट सेटअप, एलइडी डेटाइम रनिङ लाइट, तल्लो भागमा दिइएको फगलाइट, हेडलाइटमा प्रयोग भएको क्रिस्टल लाइन, अगाडि बम्परमा फगलाइट भन्दा तल दिइएको एयर इन्टेकले यसको अगाडिको भागलाई निकै आकर्षक देखाएको छ ।
पछाडिको विन्डसिल्डको तल दिइएको क्रोम फिनिसिङ, एलइडी टेल लाइट, रुफरेल, १७ इन्चको ड्यूल टोन डायमन्ड कट अलोय ह्वीलले कुशक निकै स्पोर्टी देखिन्छ ।
कुशकको लम्बाई ४२२५ एमएम, चौडाई १७६० एमएम र उचाई १६१२ एमएम रहेको छ । २६५१ एमएमको ह्वीलवेस रहेको यो गाडीमा १८८ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ भने ३८५ लिटरको बुट स्पेश दिइएको छ ।
स्तरिय इन्टेरियर
कुशकलाई बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ, भित्र पनि स्तरियर इन्टेरियर पाउन सकिन्छ । मोटो क्रोमबारको साथ सजिएको ड्यासबोर्ड, हरेक भेन्टमा क्रोम फिनिसिङ, टु स्पोक स्टेरिङ ह्वील, स्टेरिङ माउन्ट बटम, १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, टच प्यानलबाट कन्ट्रोल गर्न मिल्ने एसी, टप भेरियन्टमा लेदर सिट जस्ता फिचर पाउन सकिन्छ ।

फिचरले भरिएको
स्कोडाले कुशकलाई फिचरले भरिएको एसयूभी बनाउने प्रयास गरेको छ । कम्पनीले यसमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फक्सवागन ग्रुपको प्ले इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । यसमा इनव्यूल्ट एप, कनेक्टेड भेहिकल टेक, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सर्पोट, इन कार वाइफाई जस्ता फिचर चलाउन सकिन्छ ।
एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, कुल्ड ग्लोवबक्स, ६ वटा स्पीकर, ६ वटासम्म एयरव्याग, रियर पार्किङ क्यामेरा, आइएसओफिक्स चाइल्ड सिट, अटो हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड एसिस्ट, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध रहने छ ।
दुई इन्जिन अप्सन
स्कोडाले कुशकलाई दुई इन्जिन अप्सनमा ल्याउने छ । दुबै इन्जिन टर्बो पेट्रोल हुन् । एउटा इन्जिन १.० लिटर थ्रि सिलिण्डर र अर्को १.५ लिटर फोर सिलिण्डर हुने छ । कम्पनीले ६ स्पीड म्यानुयल र ७ स्पीड ड्यूल क्लच अटोमेटिक गियरबक्समा यसलाई ल्याउने छ ।

