काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले आफ्नो विल्कुलै नयाँ एसयूभी ‘भिजन एस’को परीक्षण तीव्र बनाएको छ ।
कम्पनीले उक्त नयाँ एसयूभी भारतको हिमांचल प्रदेशस्थित ३,६५० मिटरको उचाइमा रहेको काजा क्षेत्रमा धमाधम परीक्षण गरिरहेको स्पाइ तस्बिरहरू बाहिरिएका हुन् ।
पूरै ढाकेर परीक्षण भइरहेकाे याे गाडी महिन्द्राको चर्चित एक्सयूभी थ्री एक्सओभन्दा माथिल्लो श्रेणीको हुनेछ । महिन्द्राले यसअघि अगस्ट २०२५ मा भिजन एसको कन्सेप्ट देखाएको थियो ।
सार्वजनिक भएका तस्बिर अनुसार नयाँ ‘भिजन एस’को बनावट निकै आकर्षक छ । गाडीको अगाडि महिन्द्राको नयाँ ६ स्ल्याट ग्रिल र आकर्षक एल आकारका एलईडी हेडलाइट दिइएको छ। अघिल्लो भागमा बलियो देखिने क्ल्यामसेल बोनेट र बीचमा लुकाइएको ट्रिमसहितको ठूलो एयर ड्याम देखिन्छ । जुन कारको एडास अन्तर्गतको राडार मोड्युल हुन सक्छ।
विन्डसिल्डको माथिल्लो भागमा रहेको कालो धब्बा देखिन्छ । जुन सम्भवतः रेन सेन्सर हुन सक्छ । यसमा कन्सेप्ट कारमा जस्तै प्रस्ट देखिने ह्वील आर्च, प्यानोरामिक सनरुफ र ठूला ओआरभीएम देखिन्छन्। कन्सेप्टको डिजाइन शैली पछ्याउँदै यसमा छोटो ओभरह्याङ, फ्लस डोर ह्याण्डल, चेप्टो छानाको रेखा, मोटा साइड ल्याडिङ, गहिरा ह्वील वेल, पछाडितर्फ माथि उठेको बेल्टलाइन र देब्रे पछाडिको ह्वील आर्चमाथि फ्युअल फिलर क्याप छ ।
पछाडि सीधा ठडिएका आकर्षक टेललाइट, ढोकामै अड्याइएको स्पेयर ह्वील, सानो स्पोइलर र सार्क फिन एन्टेना, सतहसँग मिलेको रियर बम्पर रहेका छन्।
नयाँ भिडियोले महिन्द्राको नयाँ एसयूभीको इन्टिरयर बारे धेरै विवरण खुलाएको छैन । यद्यपि, पहिलेका केही तस्बिरहरूमा यसको भित्री भागको झलक देखिएको थियो। यसमा इन्फोटेनमेन्ट डिस्प्ले जोडिएको सोझो ड्यासबोर्ड, घुमाउरो एसी भेन्ट, फिजिकल बटनहरू, लेदरले बेरिएको स्टेयरिङ ह्वील हुनेछ ।
भिजन एस कन्सेप्ट महिन्द्राको नयाँ एनयू अइक्यू प्लेटफर्ममा आधारित छ । जसले पेट्रोल, डिजेल, हाइब्रिड र प्येर इलेक्ट्रीक पावरट्रेन सपोर्ट गर्छ। महिन्द्राले यो कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने निश्चित मिति नतोके पनि यो सन् २०२७ तिर बजारमा आउने अपेक्षा गरिएको छ।


