काठमाडौं । बुद्ध एयरले नयाँ पुस्ताको अत्याधुनिक एटीआर ७२-६०० सिरिजको जहाज नेपाल भित्र्याएको छ ।
कम्पनीले फ्रान्सको टुलुजबाट कल साइन ९ एन एओएस विमान नेपाल ल्याएको हो । बिहीबार फ्रान्सबाट उडान भरेको उक्त जहाज इजिप्ट, ओमानको मस्कट हुँदै शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
आवश्यक प्रक्रिया पूरा गरी उक्त जहाज अर्को महिनादेखि उडान भरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो एटीआर ७२-६०० जहाजमा एभियोनिक्स प्योर ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको छ । यस सिरिजका जहाजले कम इन्धन खपत गर्ने हुनाले यो वातावरण मैत्री मानिन्छन्।
यसमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएकाले करिब ९०० मिटर भिजिबिलिटीमा पनि सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ।
बुद्धले झन्डै डेढ अर्ब रुपैयाँमा उक्त जहाज ब्राजिलको एक निजी वायुसेवा कम्पनीसँग खरिद गरेको हो । यससँगै बुद्ध एयरको कुल विमान संख्या १७ पुगेको छ ।
त्यसैगरी आगामी केही महिनाभित्र यस्तै सिरिजका थप दुई विमान पनि भित्र्याउने कम्पनीको योजना छ । बुद्ध एयरसँग हाल एउटा एटीआर४२-३२०, १५ वटा एटीआर ७२-५०० छन् ।


