काठमाडौं । नेपालमा विद्युतीय साधन चढ्नेहरूको एउटै गुनासो सुनिन्छ । सबैले ईभीको ग्राउण्ड क्लियरेन्सलाई महत्व दिएका छन् । के ईभीमा उच्च ग्राउण्ड क्लियरेन्स हुनै पर्ने हो त भन्ने प्रश्न पनि यहाँ उठ्छ ।
विद्युतीय कारहरूको मुख्य कम्पोनेन्ट मानिने ब्याट्री गाडीको तल्लो भाग (फ्लोर) मा दिइन्छ । त्यसैले गाडीको तल्लोभाग ठोकिँदा चालकहरू आत्तिएको भेटिन्छन् । त्यसैले खराब बाटोमा चलाउँदा पनि गाडी नठोकियोस् भनेर अग्लो ग्राउण्ड क्लियरेन्स भएका कारहरू धेरै उपभोक्ताले रोज्छन् ।
पेटोलियम पदार्थबाट चल्ने कारहरूको तुलनामा ईभीहरू खराब सडकमा धेरै छुने गरेको पाइन्छ । अझ कयौं ईभीहरू ग्राहकमा हस्तान्तरण हुनु अगाडि नेपालको भन्सारबाट ल्याउँदा बाटोमै ठोक्किएर आइपुग्ने गरेका छन् । यसमा उपभोक्ताले आफ्नो गाडी छोएको छ वा छैन एकिन गर्न सक्ने अवस्था बनिसकेको छैन ।
त्यसैले उच्च ग्राउण्ड क्लियरेन्स भएका कारहरू खोज्नेहरू धेरै छन् । ईभीहरूमा लामो ह्वीलबेस हुन्छ । त्यसैले कारहरू हल्का उठाइएको स्पीड ब्रेकरमा पनि छुन्छन् । छोटो ह्वीलबेस भएको कारण पेटोल कारहरूमा तल्लो भाग छुने समस्या धेरै कम सुनिन्छ ।

यदि, तपाईं २०० एमएम वा त्योभन्दा बढी अग्लो ग्राउण्ड क्लियरेन्स भएका ईभी किन्न खोज्दै हुनुहुन्छ भने यी ६ मोडल उपयुक्त हुन सक्छन् ।
१. जे सिक्स टी : नेपाली बजारमा केही महिना अगाडि मात्रै सार्वजनिक भएको जेको ब्राण्डको एसयूभी जे सिक्स टीमा २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यो लोड नराख्दाको समयमा भएको ग्राउण्ड क्लियरेन्स हो । एसपीजी अटोमोबाइलले नेपालमा बिक्री गर्दै आएको जे सिक्स टीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
२. आइकार भी २३ : विगत ६ महिनादेखि नेपालमा एसपीजी अटोमोबाइलले बिक्री गर्दै आएको भी २३ एसयूभीमा २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध भी २३ को अहिले मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
३. बीई सिक्स : भारतीय एसयूभी एक्स्पर्ट महिन्द्राले बनाएको बीई सिक्स इलेक्टीक एसयूभीमा २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । निकै स्पोर्टी डिजाइनमा उपलब्ध एसयूभीको भेरियन्ट अनुसार मूल्य फरक छ । आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेट प्रालिले बीई सिक्सको सुरूवाती भेरियन्टको मूल्य ५७ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
४. महिन्द्रा एक्सईभी ९ : महिन्द्राको प्रिमियम एसयूभी एक्सईभी ९ ईमा पनि २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको पनि विभिन्न भेरियन्ट बजारमा किन्न पाइन्छ । यसको सुरूवाती भेरियन्टको मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ ।

५. हुन्डाई क्रेटा ईभी : दक्षिण कोरियाली कार निर्माता हुन्डाईको क्रेटा ईभीमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । भारतमा उत्पादन भएको क्रेटा ईभी नेपालमा थुप्रै भेरियन्टमा उपलब्ध छ । आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभीको सुरूवाती भेरियन्टको मूल्य ५१ लाख ९६ हजार तोकेर बिक्री गर्दै आएको छ ।
६. बीवाइडी एटो २ : नेपालमा अहिले सर्वाधिक बिक्री र चर्चामा रहेको कम्प्याक्ट एसयूभी बीवाइडी एटो २ मा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । आधिकारिक बिक्रेता साइमेक्स इंकले बिक्री गर्ने ईभी मध्ये सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स रहेको एटो २ को मूल्य ४८ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।


