क्लासीक ३५० को नयाँ जेनेरेशन मोडल बारे थहापाउनुस् ४ तथ्य

काठमाडौं । रोयल इन्फिल्ड आइकोनिक ब्राण्डको रुपमा परिचित रहेको छ । नेपालमा पनि यस ब्राण्डकाे विक्री निकै राम्रो रहेको छ । समग्रमा नेपालमा धेरै मोटरसाइकल विक्री गर्ने छैटौँ कम्पनीको रुपमा रोयल इन्फिल्ड पर्दै आएको छ । आर्थिक वर्ष २०२०/२१ मा ५ हजार ७५९ यूनिट मोटरसाइकल रोयल इन्फिल्डले नेपाल ल्याएको थियो ।

रोयल इन्फिल्ड क्लासीक ३५० उक्त ब्राण्डकाे नेपालमा सर्वाधिक विक्री हुने माेटरसाइकल हाे । त्यसले पनि क्लासीक ३५० को लोकप्रियता देखाउँछ । यस्तोमा कम्पनीले न्यू जेनेरेशन क्लासीक ३५० बजारमा ल्याउने तयारी गरिरहेको छ ।

विभिन्न समयमा परिक्षणको क्रममा रहेको तस्बिर मिडिया रिपोर्टमा प्रकाशित भएपनि कम्पनीले न्यू जेनेरेशन क्लासीक ३५० को बारेमा कुनै आधिकारीक जानकारी भने दिएको छैन ।

परिक्षणको क्रममा देखिएको तस्बिरलाई आधार मानेर यसमा रहेको फिचरहरुको अनुमान भने सुरु भएको छ ।

१. डिजाइन

रेगुलर मोडलको जस्तै डिजाइनमा केही थप परिमार्जन भएर नयाँ जेनेरेशन मोडल आउने छ । रेट्रो थिममा नै डिजाइन भएको नयाँ जेनेरेशन क्लासीक ३५० को अन्डरसिट स्प्रिङ हटाइएको छ । यसको टेललाइट नयाँ डिजाइनको रहने छ । नयाँ प्ल्याटफर्ममा बन्ने भएकाले यसमा डबल-डाउनट्यूब फ्रेमको प्रयोग भएको छ । यो नै नयाँ जेनेरेशन मोडलमा हुने सबैभन्दा ठूलो परिवर्तन हो ।

२. फिचर

नयाँ जेनेरेसन क्लासीक ३५० मा फिचरहरु भने रेगुलर मोडलको तुलनामा धेरै रहने छ । कम्पनीले यसमा रहेको पुरानो एनालग इन्ट्रुमेन्ट क्लष्टरलाई हटाएर नयाँ समी-डिजिटल क्लष्टर दिएको छ ।

यसमा ट्रिपमिटर, ओडोमिटर, फ्यूल गेज, गियर इन्डिकेटर जस्ता फिचर डिजिटल पाउन सकिने छ । नयाँ जेनेरेशन मोडलमा ट्रिपर नेभिगेसन समेत देख्न सकिने छ । साथै, नयाँ जेनेरेसन क्लासीक ३५० मा सुरक्षाको लागि महत्वपूर्ण मानिएको डबल च्यानल एबीएस र दुबै ह्वीलमा डिस्क ब्रेक रहने छ ।

३. इन्जिन

कम्पनीले यसको इन्जिनमा कुनै पनि परिर्वतन गर्ने छैन । यसमा पहिला जस्तै ३५० सीसी एयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन रहेने छ । उक्त इन्जिनले २०.४ पीएस पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।

४. मूल्य र बजारमा आउने समय

यो मोटरसाइकलको मूल्य अहिले विक्री हुँदै आएको क्लासीक ३५० को तुलनामा केही बढी रहने अनुमान गर्न सकिन्छ । अहिले विक्री हुँदै आएको स्टायन्डर्ड भेरियन्टको मूल्य ५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यसलाई कम्पनीले भारतमा आगामी दिपावलीको नजिक पारेर सार्वजनिक गर्ने अनुमान गरिएको छ । भारतमा विक्री सुरु भएको केही महिनापछि नेपाली बजारमा आउने छ ।


Back_to_top