काठमाडौं । नेपाली बजारमा वार्षिक ३ लाखभन्दा कम संख्यामा मोटरसाइकल तथा स्कुटरको विक्री हुने भएपनि यहाँ विश्वका धेरै उत्पादकले बनाएका मोटरसाइकल उपलब्ध रहेका छन् ।
अमेरिकी ब्रान्डदेखि चिनीयाँ ब्रान्डका मोटरसाइकल नेपालमा विभिन्न कम्पनीहरुले आयात र विक्री वितरण गर्दै आएका छन् । तर, नेपाली बजारमा धेरै विक्री ब्राण्डमा जापानी र भारतीय ब्राण्ड अब्बल रहेका छन् ।
पछिल्ला दिनमा चीन, भियतनाम, थाइल्याण्ड, इटाली, चेक रिपब्लीक, स्वेडन जस्ता देशका उत्पादन र ब्राण्डले नेपाली बजारमा प्रबेश गरेसँगै ग्राहकले धेरै किसिमको छनोट पाउन थालेका छन् ।
स्कुटर सेग्मेन्टको विक्री बढ्दै गएको छ भने मोटरसाइकलमा नेकेड, क्रुजर र स्पोर्टस् मोडलको विक्री बढ्दै बढ्दो क्रममा रहेको छ ।
जापानी ब्रान्ड
जापानी ब्रान्डको मोटरसाइकल नेपाली बजारमा धेरै विक्री हुने लिष्टको अग्रपक्तिंमा पर्छ । जापानी ब्रान्डका मोटरसाइकल यामाहा, सुजुकी, होन्डा रहेको छ । होन्डाले कतिपय मोटरसाइकल चीनबाट आयात गर्छ भने, धेरै जसो मोटरसाइकल भारतमा उत्पादन हुने गरेको छ । केही मोडलका विग बाइक भने कम्पनीले जापान बाट सिधै आयात गर्ने गरेको छ ।

त्यसैगरी जापानी अर्को कम्पनीले यामाहाले पनि भारतबाट नै धेरै मोडलका मोटरसाइकल आयात गर्छ भने केही मोडल अन्य देशबाट आयात गर्दै आएको छ । यामाहाले पनि विग बाइक सेग्मेन्टका मोटरसाइकल जापानबाटै आयात गर्छ । त्यस्तै सुजुकीका अहिले बिक्रीमा रहेको सबै मोटरसाइकल भारतबाट आयात हुँदै आएको छ ।
भारतीय ब्रान्ड
भारतीय ब्रान्डले पछिल्लो समय नेपाली बजारमा दवदवा नै बनाएको छ । नेपाली बजारमा रहेको जापानी ब्रान्डको लोकप्रियतालाई पछि पार्दै भारतीय ब्रान्डका मोटरसाइकल युवाको मन मुटुमा बस्न सफल भएको छ । पछिल्लो समय बजार र टीभीएसका मोटरसाइकलले नेपाली बजारमा नयाँ तरंग नै ल्याएको छ । नेपालमा विक्री हुने भारतीय ब्रान्डको मोटरसाइकलमा बजाज, टीभीएस, हिरो, रोयल इन्फिल्ड जस्ता कम्पनी रहेको छ । रोयल इन्फिल्ड बेलायती ब्रान्डको रुपमा चर्चित भएतापनि पछिल्लो दशकमा रोयल इन्फिल्ड पूर्ण रुपमा भारतीय ब्रान्डको रुपमा परिचित रहेको छ ।

इटाली ब्रान्ड
नेपालमा भारतीय तथा जापानी ब्रान्ड पश्चात् इटालीयन ब्रान्डका मोटरसाइकल पनि उत्तिकै रुपमा उपलब्ध रहेको छन् । इटालीय ब्रान्डमा बेनेली, भेष्पा, अप्रिलिया, एमभी अगष्टा, डुकाटी, एसडब्ल्युएम, इटालीजेट जस्ता मोटरसाइकल तथा स्कुटर ब्रान्ड नेपाली बजारमा बिक्री हुँदै आएको छ । इटालीय ब्रान्ड बेनेलीका धेरैजसो मोटरसाइकल चीनमा निर्माण भएका छन् ।

इटालीयन मोटरसाइकलका केही मोडल सिधै यूरोपबाटै आयात हुँदै आएको छ । त्यस्तै डुकाटी ब्रान्ड सिधै इटालीबाट नै आयात हुने गरेको छ । त्यस्तै भेष्पा अप्रिलिया भारतबाट आयात हुने गरेको पाइन्छ । अन्य ब्रान्ड केही इटाली र केही चीनबाट आयात हुन्छन् ।
चिनियाँ ब्रान्ड
नेपाली बजारमा चिनियाँ मोटरसाइकल ब्रान्ड पनि उत्तिकै उपलब्ध छन् । नेपालमा उपलब्ध चिनियाँ ब्रान्डहरुमा सिएफमोटो, मोटरहेड, हाउजे, कि–वे, एसवाइएम जस्ता ब्रान्डका मोटरसाइकल उपलब्ध रहेको छन् ।

अन्य ब्रान्ड
नेपालमा अमेरिकन ब्रान्ड हार्ले डेभिड्शन, अष्ट्रियन ब्रान्ड केटीएम, जर्मन ब्रान्ड बीएमडब्ल्यु, स्वीडेन ब्रान्ड हस्कभर्ना, चेक ब्रान्ड जावा जस्ता मोटरसाइकल उपलब्ध छन् । यी सबै मोटरसाइकल भारतमा नै उत्पादन हुने गरेका छन् ।

लामो समय बन्द भएर कमब्याक भएको जावा पूर्णरुपमा भारतीय ब्रान्ड महिन्द्राको स्वामित्वमा रहेको छ । त्यस्तै बजाजको लगानी रहेको केटीएम, हस्कभर्ना जस्ता अन्य कम्पनीहरुले पनि भारतमा उत्पादन गरेका मोटरसाइकल नेपालमा आयात हुने गरेका छन् ।
यसका अलावा हार्टफोड, क्रसफायर, हान्वे, लेमेटो, एशिएन विस्ट जस्ता मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ ।

