चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरणको सुविधै सुविधा

काठमाडौं । विद्युत् प्राधिकरणले देशभर विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन राख्न चाहानेलाई विभिन्न सहयोग सुविधा दिने भएको छ । चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरणले ट्रान्सफर्मरदेखि प्राविधिक सहयोगसम्म दिने भएको हो ।

हाल प्राधिकरणले देशभर चार्जिङ स्टेशन राख्न इच्छुकहरुका लागि आवेदन खुला गरेको छ । चार्जिङ स्टेशन राख्न प्रोत्साहित गर्न प्राधिकरणले प्याकेजमै सुविधा दिने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका योजना प्रमुख सागरमणि ज्ञवालीका अनुसार चार्जिङ स्टेशन सञ्चालन गर्ने व्यक्ति÷कम्पनीलाई प्राधिकरणले विद्युत् ट्रान्सर्फमर, पेमेन्ट गेटवेसँग कनेक्सन, प्राविधिक सल्लाह लगायत सहयोग गर्नेछ ।

सरकारको विद्युतीय गाडीको प्रयोग बढाउने नीतिलाई सहयोग पुर्याउने गरी प्राधिकरणले चार्जिङ स्टेशन बनाउन प्रोत्साहन गरेको हो,’ उनले भने, ‘स्टेशन बनाउनेलाई आकर्षित गर्न हामीले विभिन्न सुविधा दिने भएका हौं ।’

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले चार्जिङ स्टेशन निर्माण अपरिहार्य रहेको उनले बतए । साथै, चार्जिङ स्टेशनमा लगानी गर्नेले भविष्यमा राम्रो प्रतिफल समेत पाउने सम्भावना रहेको उनको भनाइ छ ।

उनका अनुसार पेट्रोल पम्प जस्तै गरी विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्न इच्छुक व्यक्ति, निजी तथा सार्वजनिक संस्थाले यस्तो आवेदन भर्न पाउने छन् ।

यस्ता छन आवेदन दिन आवश्यक कुराहरु

चार्जिङ स्टेशन सञ्चालन गर्न इच्छुक व्यक्ति, निजी तथा व्यवसायीक संस्थाले फारम भर्दा निर्माण स्थलको भौगोलिक अवस्थाको नक्सा राख्नु पर्ने छ ।

यसैगरी, चार्जिङ स्टेशन बनाउने मार्गको नाम, बाटोदेखि प्रस्तावित स्टेशनसम्मको दूरी उल्लेख गर्नुपर्नेछ । साथै ११ केभी विद्युत् वितरण लाइनको दूरी समेत उल्लेख गर्नु पर्नेछ ।

फारम भर्ने क्रममा प्रस्तावित जग्गाको क्षेत्रफल, प्रस्तावित चार्जरको प्रकार, विषेशता, क्षमता र उद्देश्य समेत उल्लेख गर्नुपर्नेछ । यगरी, चार्जर स्टेशनको साइज, कति वटा चार्जर हुनेछ उक्त संख्या, कति सवारी चार्ज गर्न सक्ने क्षमता, सवारी र मोडल समेत उल्लेख गर्नुपर्नेछ ।

जग्गा स्पष्ट देखिनेगरी तस्वीर राख्नुपर्नेछ । साथै प्रस्तावित जग्गा वरिपरि भएका होटल, पसल, वा अन्य सुविधाहरु बारे समेत उल्लेख गर्नुपर्ने छ । यसैगरी, चार्जिङ स्टेशन राखिने स्थान फरममा नेपाल विद्युत् प्राधिकरणको सम्वन्धित वितरण केन्द्र, सव स्टेशन र त्यसको दूरीका बारेमा समेत स्पष्ट खुलाइनुपर्नेछ ।

 


Back_to_top