काठमाडौं । विश्व प्रसिद्ध टेक कम्पनी एप्पलले आफ्नो कार निर्माणलाई तिब्ररुपमा अगाडि बढाएको छ । एप्पलको तयारी बारे रिपोर्ट सार्वजनिक गर्दै ब्लूमबर्गले चाँडै नयाँ इलेक्ट्रीक कार आउने दावी गरेको हो ।
एप्पलले बनाउने कार ‘सेल्फ ड्राइभिङ’ टेक्नोलोजीमा आधारित रहने छ । एप्पलले आफ्ना कारमा दुई किसिमको एआई टेक्नोलोजी प्रदान गर्नेछ । पहिलो कारमा सेल्फ ड्राइभिङ क्षमता भएपनि स्टेरिङ र एक्सेलिरेशनमा चालकले ध्यान दिनु पर्छ । यो सिस्टममा एडप्टीभ क्रुज कन्ट्रोल, लेन चेन्ज एसिस्ट जस्ता फिचर रहने छन् ।
अर्को कार भने लेभल ५ बराबरको पूर्ण स्वचालित कार रहने छ । यो सिस्टममा कार चलाउन चालकको आवश्यकता पर्दैन । यसमा सबै कन्ट्रोल चीपको माध्यमबाट कार आफैँले गर्नेछ । एप्पलले पहिलो पटक स्टेरिङ ह्वील र प्याडल विना नै कार बजारमा ल्याउने छ । यसले विश्व कार बजारमा अहिले देखिनै नयाँ तरङ्ग सृजना गरिरहेको छ ।
ब्लूमबर्गले यो कार सन् २०२५ मा बजारमा आउने रिपोर्टमा दावी गरेको छ । यसमा एप्पलले भने कुनै धारणा सार्वजनिक गरेको छैन ।

