नेपालमा बनेको इलेक्ट्रीक सहित अग्रेजी नयाँ वर्षमा ४ मोटरसाइकल आउने

काठमाडौं । अग्रेजी नयाँ वर्ष २०२२ लाई लक्षित गरेर नेपाली बजारमा नयाँ मोटरसाइकल आउने भएका छन् । नेपालमा बनेको इलेक्ट्रीक मोटरसाइकल यात्री सहित हिरो र यामाहाले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

नयाँ वर्ष लक्षित गरेर नेपाली ब्रान्ड यात्रीले इलेक्ट्रीक मोटरसाइकल ‘पी १’ को विक्री सुरु गर्नेछ । कम्पनीले यसअघि नै यसको कन्सेप्ट सार्वजनिक गरेको थियो भने विभिन्न स्थानमा टेष्ट ड्राइभ कार्यक्रम पनि आयोजना गरेको थियो ।

त्यस्तै हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)ले नेपाली बजारमा लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को नयाँ भर्सन ल्याउने भएको छ । त्यस्तै यामाहाले एक नयाँ मोडल र आर १५ को भर्सन ४ सार्वजनिक गर्ने तयारी गरेको छ ।

हिरो एक्सपल्स २०० फोर भी नयाँ बर्षको सुरुवातमा नै सार्वजनिक गर्ने कम्पनी स्रोतले जनाएको छ । त्यस्तै यात्रीले नयाँ २०२१को डिसेम्वर अन्तिमसम्ममा यात्री पी १ सार्वजनिक गर्ने जानकारी दिएको छ ।

एमएडब्लू स्रोतका अनुसार यामाहाले एफजेड-एक्स र यामाहा आर १५ भी ४ को केही दिन भित्रै नेपालमा परिक्षण सुरु गर्ने जनाएको छ । यामाहाले केही समय परिक्षण पश्चात् यी दुई मोटरसाइकलको विक्री सुरु गर्नेछ । सन् २०२२ जनवरी/फेव्रुअरीमा यामाहाले यी दुई मोटरसाइकलको विक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।

हिरोले हाल नेपाली बजारमा विक्री गर्दै आएको एक्सपल्स २०० भन्दा महंगो मूल्यमा भि फोर मोडल विक्री गर्ने सहजै अनुमान लगाउन सकिन्छ । यात्रीको इलेक्ट्रीक मोटरसाइकल ‘पी १’ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण भइसकेको छ ।

त्यसैगरि यामाहाले ल्याउने एफजेड-एक्स र आर १५ भी फोर को मूल्यबारे थाहा पाउन केही समय प्रतिक्षा गर्नु पर्नेछ ।


Back_to_top