काठमाडौं । मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी ब्रेजा हाइब्रिड इन्जिनको साथ आउने भएको छ । नयाँ माइल्ड हाइब्रिड सिस्टमको इन्जिनको कारण यसको माइलेज केही बढ्ने अनुमान गरिएको छ ।
कम्पनीले यसमा १.५ लिटर फोर सिलिण्डर माइल्ड हाइब्रिड के १५ बी पेट्रोल इन्जिन उपलब्ध हुनेछ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ । हाइब्रिड इन्जिनको कारण यसको माइलेज रेगुलर मोडलको तुलनामा धेरै हुन्छ ।
सम्भवत कम्पनीले यसअघि भिटार ब्रेजा नाममा विक्री गर्दै आएको यो एसयूभीलाई अब भने ब्रेजा मात्रै नामबाट ल्याउने अनुमान पनि गरिएको छ । भिटारा नाममा अर्को एसयूभी भारतमा पनि विक्री सुरु गर्न लागेकोले नयाँ ब्रेजाको नामबाट भिटार हटाउने तयारी भइरहेको बुझ्न सकिन्छ ।
सुजुकी इन्डियाले ‘वाइटीए’ कोण नेम राखेर उत्पादनको काम गरिरहेको नयाँ ब्रेजामा व्यापक परिमार्जन हुने देखिएको छ । कम्पनीले यसको इन्टेरियर र एक्सटेरियरमा व्यापक परिमार्जन गर्न लागेको हो ।

नयाँ ब्रेजामा रिडिजाइन गरिएको फ्रन्ट ग्रिल, सार्प हेडल्याम्प, नयाँ फगल्याम्प हाउजिङ, फराकिलो एयर इन्टेक, अगाडि र पछाडि नयाँ स्कीड प्लेट, नयाँ आकारमा डिजाइन गरिएको बोनेट, नयाँ डिजाइनको अलोय ह्वील जस्ता परिवर्तन हुनेछ । पछाडिको भागपनि विल्कुलै फरक देख्न सकिन्छ ।
यसको इन्टेरियर पनि पहिलेको भन्दा प्रिमियम रहने छ । फ्लोटिङ्ग टचस्कृन, इ-सिम कनेक्टीभीटी, रियल टाइम ट्रयाकिङ, वायरलेस चार्जिङ, रिडिजाइन सेन्ट्रल कन्सोल, प्याडल सिफ्टर सहितको अटोमेटीक भेरियन्ट र सनरुफ उपलब्ध हुनेछ ।

