काठमाडौं । टाटा ग्रुपद्धारा निर्मित इलेक्ट्रीक साइकल नेपाल आएको छ । साइन इन्टरप्राइजेजले ‘स्टाइडर ब्रान्ड’को इलेक्ट्रीक साइकल नेपाल आएको हो ।
साइन इन्टरप्राइजेज बुटवल वेस कम्पनी व्यवसायी ग्रुप रहेको छ । टाटा इन्टरनेशनल अन्तर्गत स्टाइडर कम्पनीको प्याडल एसिस्ट साइकल साइन इन्टरप्राइजेजले विक्री गर्दै आएको छ । कम्पनीले माघ १ गतेदेखि दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल विक्री सुरु गर्ने भएको हो ।
कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको कोन्टिनो इटीवी १०० मा २५० वाटको मोटर रहेको छ । यसमा ४८ भोल्टको रिमुभएवल लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यो ब्याट्री एक पटक फुल चार्ज गर्न ३ घन्टा समय लाग्छ ।
एक पटकको फुलचार्जमा यो साइकल ब्याट्री पावरबाट मात्रै ३० किलोमिटर चलाउन सकिन्छ । सामान्य प्याडल गर्ने हो भने ६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड २५ किलोमिटर प्रति घन्टा छ ।
यो साइकलमा ७ स्पीडको गियर रहेको छ भने, यसको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसको अगाडि सस्पेन्सन फर्क पाउन सकिन्छ । यसमा सानो आकारमा एलइडी कन्सोल उपलब्ध छ । यसको सुरुवाती मूल्य ७५ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यस्तै अर्को इलेक्ट्रीक साइकल भोल्ट्रीकमा समेत कोन्टिनो कै समान पावर रहेको छ । तर भोल्ट्रीक १.७ मा भने रिमुभएवल ब्याट्रीको अप्सन दिइएको छैन । साथै, यसमा गियरसमते उपलब्ध छैन । अन्य सबैजसो फिचर समान रहेको छ । यसको सुरुवाती मूल्य ६० हजार रुपैयाँमा हुने कम्पनीले जनाएको छ ।
साइन इन्टरप्राइजेजले नेपाली बजारमा बच्चादेखि सबैलाई हुने साइकल विक्री गर्दै आएको छ । कम्पनीले इलेक्ट्रीक साइकलका लागि देशभर डिलरको मागसमेत गरेको छ ।

