काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा मोटरसाइकल र स्कुटरको कुल १ लाख ४९ हजार ३७४ यूनिट आयात भएको छ ।
भदौदेखि मंसिरसम्ममा धेरै चाडपर्व पर्ने भएकाले विभिन्न कम्पनीले फेस्टिभ स्कीम ल्याएर ठूलो परिमाणमा मोटरसाइकल आयात गर्ने गरेका छन् । विगतमा पनि चाडपर्वको समयमा यस्तै परिणाममा मोटरसाइकल आयात हुने गरेको थियो ।
साउनदेखि मंसिरसम्मको ५ महिनामा भएको आयात तथ्याङ हेर्दा सबैभन्दा धेरै १२५ सीसी सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर भित्रिएको छ । भने ४०० सीसीभन्दा माथिका मोटरसाइकलको आयात १ यूनिट मात्र भएको देखिन्छ ।
१२५ सीसीको तुलनामा १५० सीसी सेग्मेन्टमा मोटरसाइकलको आयात कम भएको छ । पहिलो ५ महिनाको तथ्याङ्कका अनुसार सबैभन्दा धेरै ५० सीसीदेखी १२५ सीसी सेग्मेन्टमा १ लाख १ हजार ७१९ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ । यसमा सबैभन्दा ठूलो हिस्सा स्कुटरको रहेको छ ।
त्यस्तै १२५ सीसीदेखि २०० सीसी सेग्मेन्टमा ३४ हजार २२७ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको देखिन्छ । साथै, २०० देखि २५० सीसी सेग्मेन्टमा भने ७ हजार ७३५ यूनिट मोटरसाइकल आयत भएको छ । यो तथ्याङ्कलाई हेर्दा २५० सीसी सेग्मेन्टमा ग्राहको आकर्षण बढ्दो देखिन्छ ।
त्यसैगरि २५० देखि ४०० सीसी सेग्मेन्टमा ४ हजार ३३० यूनिट मोटरसाइकल आयात भएको देखिन्छ । यो सेग्मेन्टमा रोयल इन्फिल्ड, जावा, होन्डा र बजाजले मोटसाइकल ल्याउँदै आएका छन् ।
४०० सीसीभन्दा माथि १ यूनिटमात्र मोटरसाइकल आयात भएको छ । साथै, इलेक्ट्रीक दुईपाङ्ग्रेको आयात उत्साहजनक देखिएको छ । पछिल्लो ५ महिनामा १ हजार ३६२ यूनिट इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल आयात भएको विभागको तथ्यांकमा छ ।

