उत्कृष्ट ग्राउन्ड क्लियरेन्ससहित टाटाको दोस्रो इभी नेपाल आउने

काठमाडौं । नेपाली बजारको सफल सेडान कार टाटा टिगोरको इलेक्ट्रीक भर्सन नेपाल आउने तयारी भएको छ । १७२ एमएम ग्राउन्ड क्लियरेन्स रहेको टिगोर इलेक्ट्रीक यही माघ महिनामा नै नेपाल आउने अनुमान गरिएको छ ।

भारतमा टिगोर इभी विक्री सुरु भएको करिब ३ महिना भएको छ । नेपालमा पनि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभीको विक्री सुरु गरेको थियो । नेक्सनमा जस्तै टिगोर पनि जिपट्रोन प्रविधिमा आधारित रहेको छ ।

भारतमा टिगोरको सुरुवाती मूल्य ११ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ भने यसको नेपालमा करिब ३० लाख हाराहारी मूल्य रहने अनुमान गर्न सकिन्छ ।

टिगोर इभीले ग्लोबल एनक्याप क्रायस टेष्टमा फोर स्टार रेटिङ पाउन सफल भएको छ । कम्पनीले यो सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

त्यस्तै, टिगोर इभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । टिगोर इभीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

टिगोर दुई कलर अप्सनमा उपलब्ध हुनेछ । साथै, यसको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल-टोन छ । टिगोरको सिट ग्रेनाइट कालो रंगमा छ ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।

त्यस्तै, गाडीमा स्मार्ट की पुस-बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।

गाडीमा २,४५० एमएमको ह्वीलबेस छ । टाटा मोटर्सले यो टिगोर इभीको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।


Back_to_top