अफरोड एसयूभी जिम्नीलाई टक्कर दिने दाउमा गुर्खा, मूल्य भने सस्तो हुने

काठमाडौं । विश्वव्यापी रुपमा अफरोड गाडी खोज्नेको संख्या बढ्दै गएको छ । त्यसमा पनि हाम्रो जस्तो अधिकांश सडक अफरोड भएको ठाउँमा अफरोड एसयूभीको माग राम्रो हुनु स्वभाविक मानिन्छ ।

नेपालमा पछिल्ला दिनमा सुरु भएको ड्राइभ टुरिजमसँगै अफरोड एसयूभीको माग पनि बढ्दै गएको देखिन्छ । यो सेग्मेन्टमा महिन्द्रा थार मात्रै ग्राहकसँग छनोटमा थियो । तर, नयाँ जेनेरेशन थार बजारमा आएसँगै नेपालले अहिलेसम्म थार ल्याउन पाएको छैन । यस्तोमा सुजुकी जिम्नी नेपाल आएको थियो । अब भने जिम्नीसँग प्रतिस्पर्धा गर्न फोर्स गुर्खा नेपाल आउने पक्का भएको छ ।

महिन्द्राको थार, फोर्स गुर्खा, सुजुकी जिम्नी तथा जीपको र्‍याङलर यो सेग्मेन्टमा उपलब्ध भएपनि सप्लाई कुनै पनि मोडलको राम्रो हुन सकिरहेको छैन । सप्लाईमा खासै समस्या नभएको जीपको र्‍याङलर मूल्यको कारण धेरै मानिसले खरिद गर्न सक्दैनन् ।

मूल्यको हिसावले ७५ लाखदेखि ८० लाख भित्रमा किन्न पाइने सुजुकी जिम्नीलाई आयाम इन्टरनेसनलले नेपाल ल्याउन लागेको फोर्स गुर्खाले टक्कर दिने देखिन्छ । अझ भनौं जिम्नीको तुलनामा गुर्खा केही सस्तो हुने अनुमान गरिएको छ । आधिकारीक मूल्य सार्वजनिक नभएपनि गुर्खाको मूल्य ६५ लाखदेखि ७० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

इन्जिनमा फरक

फोर्सको गुर्खामा जर्मनी कार निर्माता मर्सिडिज बेन्जको इन्जिन प्रयोग भएको छ । यसमा मर्सिडिजको एफएम २.६ सिआरसीडी इन्जिन रहेको छ । उक्त इन्जिनले ९० हर्सपावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । गुर्खालाई कम्पनीले ४X४X४ अफरोड एसयूभी भन्ने गरेको छ । फोर बाई फोरले फोरह्वील ड्राइभको संकेत गर्छ भने फोर्सको गुर्खामा रहेको अतिरिक्त फोरले यो एसयूभी जमिन, हिउँ, मरुभूमी र पानीमा समेत गुढ्न सक्ने जनाउँछ ।

सुजुकी जिम्नीमा १.५ लिटर क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०० हर्सपावर र १३० एनएम टर्क प्रदान गर्छ । जिम्नीमा पेट्रोल इन्जिन उपलब्ध रहेको छ । जिम्नीमा छ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटीक गियरबक्स पाउन सकिन्छ । जिम्नीमा पनि फोर बाइ फोर ड्राइभ अप्सन पाउन सकिन्छ ।

बाहिरी आवरण

सुजुकी जिम्नी फोर्स गुर्खाको तुलनामा निकै छोटो रहेको छ । यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । ३७७ लिटर लगेज स्पेश, ठूलो लेगरुम, २२५० एमएमको ह्वीलवेश पाउन सकिन्छ ।

फोर्स गुर्खाको लम्बाई ४११६ एमएम, चौडाइ १८१२ एमएम, उचाई २०७५ एमएमको रहेको छ भने यसको ह्वीलवेस २४०० एमएमको रहेको छ ।

फोर्सको गुर्खामा राउण्ड सेपको डिआरएल सहितको एलइडी हेडलाइट, मर्सिडिजको जी वागन स्टाइलको बक्सी डिजाइन, १६ इन्चको ड्यूलटोन अलोय ह्वील र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

जिम्नीको लोकप्रियता संसारभर रहेको छ । जिम्नीमा १५ इन्चको अलोय ह्वील, गोलाकार एलइडी हेडल्याम्प, बक्सी डिजाइनमा तयार भएको बडी, २१० एमएमको निकै उच्च ग्राउन्ड क्लियरेन्सले जिम्नीलाई उत्कृष्ट बनाएको छ ।

गुर्खामा ड्राइभर साइडमा फ्याक्ट्री फिटेड एयरइनटेकसँगै दिएको म्याट व्ल्याक कलरको स्नोर्कलले यसको पानीमा समेत गुड्न सक्ने क्षमतालाई दर्साउँछ । यो एसयूभी ७०० एमएमसम्मको पानीको गहिराइमा गुड्न सक्छ ।

सुरक्षा फिचर

सुजुकीले जिम्नीमा चालकको सुरक्षालाई ध्यानमा राख्दै एयरब्याग, एबीएसको साथ इबीडी, अगाडि डिस्क ब्रेक, ब्रेक एसिस्ट जस्ता फिचर दिइएको छ । साथै, वाइप–डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, एन्टी–स्क्राच प्लास्टिक बम्पर जिम्नीमा पाउन सकिन्छ ।

फोर्स गुर्खामा अगाडि डिस्क तथा पछाडि ड्रम ब्रेक पाउन सकिन्छ । साथै, दुई एयरव्याग, इबीडी सहितको एबीएस, हिल होल्ड एसिस्ट, ब्रेक एसिस्ट जस्ता फिचर यसमा उपलब्ध छन् ।

क्याविन

गुर्खाको क्यावीनमा छिर्न र ओर्लिनकाका लागि लामो फुटरेस्ट दिइएको छ । चालकको सहजताको लागि ड्यासबोर्डमा सेमी डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ इन्चको इन्फोटेन्मेन्ट टचस्कृन, अटो कर्नरिङ हेडल्याम्प, अटोडीमीङ इन्टेरियर लाइट, फलोमी होम लाइट, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर प्रदान गरेको छ ।

सुजुकी जिम्नीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल कार प्ले सपोर्ट, क्लाइमेट कन्ट्रोल नभ, आकर्षक तथा कम्फर्टेवल सिट, ह्वील आर्क–स्पार्टजस्ता फिचर दिइएको छ ।


Back_to_top