टर्बोचार्ज्ड पेट्रोल इन्जिन युगको आरम्भ

काठमाडौं । जब भारतले नयाँ ‘इमिसन नम्स’ बीएस ६ को अनिवार्य गर्याे सोही समयदेखि भारतका स्थानीय र अन्तर्राट्रिय कम्पनीहरूले आफ्नो इन्जिनको आकार सानो बनाउन बाध्य भए ।

सानो इन्जिन तर पावर बर्करार राख्नाका लागि टर्बोचार्ज्ड टेक्नलोजी अटोमोबाइल इन्डष्ट्रीमा एक नयाँ ‘किक’ को रूपमा देखा पर्यो । धेरै वर्षदेखि डिजल इन्जिन  भएका ठूला गाडीहरूमा  प्रयोग हुँदै आएको टर्बोचार्ज्ड टेक्नलोजी हाल पेट्रोल इन्जिनमा पनि व्यापक रूपमा प्रयोग हुन थालेको छ । अबको केही समय पछि नेचुरल्ली एस्पिरेटेड इन्जिनभन्दा टर्बोचार्ज्ड इन्जिन धेरै संख्यामा हुने पक्का छ ।

अहिले नै निसानको म्याग्नाइट, रेनो काइगर, फक्वागनको टाइगुन, स्कोडा कुशक, हुन्डाई भेन्यू, किया सोनेट जस्ता कारहरूमा १.० लिटरको टर्बोचार्ज्ड इन्जिन रहेको छ । जुन इन्जिनको पावर १.५ लिटर इन्जिन भएको नेचुरल्ली एस्पिरेटेड इन्जिन जतिकै रहेको छ ।

के हो त टर्बोचार्ज्ड टेक्नलोजी ?

करिब १ शताब्दी अघि नै विकास भएको हो टर्बोचार्ज्ड टेक्नलोजी । सन् १९०५ मा स्वीस इन्जिनीयर अल्फ्रेड बुचिले यो टेक्नलोजीको टेडमार्क दर्ता गराएका थिए । सुरूका वर्षहरूमा हवाईजहाजमा प्रयोग भएको यो टेक्नलोजी सन् १९३० पछि मात्र अटोमोबाइलमा आएको हो ।

टर्बोचार्ज्डको मुख्य कार्य भनेको इन्जिनको सिलिण्डरमा छिटो छिटो कम्प्रेश गरेर हावा पठाउने टेक्नलोजी हो । जसको कारण सिलिण्डरमा अझ राम्रोसँग फ्युल बल्छ फलस्वरुप धेरै शक्ति उत्सर्जन गर्दछ । टर्बोचार्ज्ड इन्जिनमा सामान्य इन्जिनभन्दा थप एउटा पार्टस रहेको हुन्छ , जसमा दुवैतर्फ फ्यान रहन्छ जसलाई मेटलसाफ्टले जोडेर राखेको हुन्छ ।

यो इन्जिनको एग्जस्ट पाइपसँग जोडिएको हुन्छ । जब इन्जिनले सिलिण्डरमा जलेको इन्धनको धुवा जोडसँग बाहिर फाल्छ सोही समयमा टर्बोको टर्बाइन पनि जोडल घुम्दछ र विपरित स्थानमा रहेको अर्को फ्यानले वातावरण सफा हावालाई कम्प्रेस गरेर जोडले इन्जिनमा धकेल्दछ । जसले सिलिण्डरमा गएर इन्धनलाई पूर्ण रूपमा जलाउन मद्दत गर्दछ । फलस्वरुप इन्धनको पूर्ण उपभाग भई धेरै शक्ति निस्कन्छ ।

टर्बोचार्ज्डका फाइदाहरू

टर्बोचार्ज्ड शब्द सुन्दाखेरि जति फेन्सी तथा आधुनिक लाग्दछ वास्तवमा टर्बो चाज्र्ड टेक्नलोजीले  नेचुरल्ली एस्पिरेटेड इन्जिनको तुलनामा धेरै फाइदा पुर्याउँछ । सोही कारणले टर्बोचार्ज टेक्नलोजी आज विश्व अटोमोबाइल इन्डष्ट्रिको पहिलो रोजाइ भएको छ ।

टर्बोचार्ज्ड इन्जिको सबभन्दा पहिलो फाइदा भनेको यसको पावर धेरै हुनु हो । जसलाई स्पीड र पावर मनपर्छ उक्त व्यक्तिलाई टर्बोचार्ज्ड टेक्नलोजी सपना साकार भए सरह हो । यो इन्जिनमा पावरको साथै टर्क पनि धेरै हुने गर्दछ । यो इन्जिनले उत्पादन गर्ने टर्क नेचुरल्ली एस्पिरेटेडकोभन्दा कम आरपीएममै धेरै हुने गर्दछ ।

टर्बोचार्ज्डको दोस्रो सबल पक्ष भनेको यसको इफिसियन्सी हो । यो इन्जिनले नेचुरल्ली एस्पिरेटेड इन्जिनको दाँजोमा बढी पावर उत्सर्जन गरेता पनि यो इन्जिनको इन्धनको खपत भने कम हुने गर्दछ । वास्तवमा भन्ने हो भने टर्बोचाज्र्ड इन्जिनले फ्युल इफिसियन्सीमा कम्प्रमाइज नगरिकन सानो आकारको इन्जिनले बडि पावर उत्सर्जन गर्न सफल भएको छ ।

यदि २.० लिटरको नेचुरल्ली एस्पिरेटेड इन्जिन र १.५ लिटरको टर्बोचार्ज्ड इन्जिनको तुलना गर्ने हो भने दुवै करिब समान शक्ति उत्सर्जन गर्दछ तर इन्धन भने टर्बोचार्ज्ड इन्जिनको खपत कम हुन्छ ।

त्यस्तै टर्बोचार्ज्ड इन्जिनको तेस्रो फाइदा भनेको प्रदुषण कम गर्नू हो । टर्बोको सहयोगमा इन्धन राम्रोसँग जल्ने भएकाले टर्बोचार्ज्ड इन्जिन सफा र वातावरणमैत्री हुन्छ । यसमा एग्जस्ट ग्यास फाल्दा उत्पन्न हुने इनर्जीलाई पनि उपयोग गर्ने भएकाले यसले प्रदुषणलाई निकै कम गर्न मद्दत गर्दछ । त्यसैले पनि नयाँ इमिसन मापदण्ड पछि धेरै कम्पनीहरूले साना तर टर्बोचार्ज्ड इन्जिन प्रयोग गरेका हुन् ।

यसको चौथो फाइदा भनेको यो इन्जिन शान्त हुनु हो । सानो आकारको इन्जिन हुने भएकोले यो इन्जिनको आवाज सामान्यभन्दा धेरै कम हुने गर्दछ । यसमा प्रयोग हुने कम्पोनेन्ट पनि तुलनात्मक रूपमा थोरै नै हुने भएकाले पनि यसको आवाज कम हुन्छ । त्यस्तै यो एग्जस्ट सिस्टमसँगै जडान हुने भएकाले पनि दुषित धुँवाको फ्लोलाई कम गर्नाले पनि कम आवाज निकाल्नमा मद्दत गर्दछ ।

अन्त्यमा माथि भनिएका जस्तै धेरै फाइदाहरू भएका कारण छोटो समयमै टर्बोचार्ज्ड इन्जिन ‘टक अफ दी टाउन‘ भएको छ । टर्बोचार्ज्ड टेक्नलोजीले  इन्जिनको इफिसियन्सी बडाउने, फ्युल कम खपत गराउने र कम प्रदुषण गर्ने  आदि कारणहरूले गर्दा आगामी दिनहरूमा धेरैभन्दा धेरै सवारी साधनका इन्जिनहरू टर्बोचार्ज्डयुक्त हुनेमा दुईमत  छैन ।

अटोमोबाइल कम्पनीहरूले अझ इन्जिनको प्रफर्मेन्स सुधार गर्नका लागि टर्बोचाज्र्डको सुधारीयको रूपमा सुपरचार्ज्ड र ट्वीनटर्बो प्रविधिको समेत प्रयोग गर्न थालीसकेका छन् ।


Back_to_top