साना एसयूभीको बजार उथलपुथल गर्ने दाउमा टाटा

काठमाडौं । विश्वको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रलाई नै उथलपुथल पार्नेगरी परेको कोभिड १९ को प्रभावका बीच भारतीय सवारीसाधन उत्पादक कम्पनी टाटाको प्यासेन्जर सेग्मेन्टको बजार भने आक्रमक गतिमा विस्तार भएको छ ।

कम्पनीले यस बीचमा ल्याएको अल्ट्रोज, पन्च र सफारीले निकै राम्रो व्यापार गरेसँगै भारतको प्यासेन्जर कार सेग्मेन्टमा टाटाले आफुलाई बलियो रुपमा स्थापित गर्न सफल भएको हो ।

टाटाले सन् २०१८ बाटै आफ्ना गाडीको डिजाइन, इन्जिन र सुरक्षामा व्यापक परिवर्तन गरेको देखिन्छ । कम्पनीले ल्याएको पहिलो सब फोर मिटर एसयूभी नेक्सन नै टाटाको पहिलो गेमचेन्जर मोडल हो । ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाएसँगै नेक्सनले बजारमा नयाँ नयाँ रेकर्ड कायम गर्दै भारतमा सर्वाधिक विक्री हुने एसयूभी बनिसकेको छ ।

भारतमा मासिक २८ हजार यूनिट हाराहारी एसयूभी विक्री गर्न थालेसँगै टाटाले आफ्नो बजार हिस्सामा निकै ठूलो छलाङ लगाएको छ । त्यसमा करिब १४ हजार यूनिट नेक्सन र १० हजार यूनिट पन्चको हिस्सेदारी रहेको छ ।

नेपालमा पनि टाटाले नेक्सन मार्फत आफ्नो बजार विस्तार गरिरहेको छ । आधिकारीक वितरक सिप्रदी ट्रेडिङले वार्षिक ८ सय हाराहारी नेक्सन विक्री गर्दै आएको छ । साथै, कम्पनीले नेक्सन इलेक्ट्रीकको विक्री सुरु गरेपछि थप चर्चा पाइरहेको छ । सप्लाईमा समस्या रहेको नेक्सन इभी अहिले पनि ठूलो परिमाणमा बुकिङ रहेको मोडल हो ।

टाटाले केही महिना अघि भारतमा विक्री सुरु गरेको माइक्रो एसयूभी पन्चले साना एसयूभीको बजारमा निकै ठूलो उथलपुथल गर्ने देखिएको छ । ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ, कम्प्याक्ट साइज र उत्कृष्ट फिचरको कारण भारतमा पन्चको विक्री मासिक १० हजार यूनिट पुगिसेको छ ।

नेपालमा अर्को महिनासम्म विक्री सुरु हुने अपेक्षा गरिएको पन्चले साना एसयूभीको बजारमा निकै ठूलो परिवर्तन देखाउने अनुमान गर्न सकिन्छ । सेग्मेन्टकै सर्वाधिक सुरक्षीत र स्टाइलिस देखिने पन्चले बजारमा निसान म्याग्नाइट र रेनो काइगर जस्ता मोडललाई राम्रै धक्का दिने अनुमान गरिएको छ ।

टाटाको पावरफुल इन्जिन दिइएको पन्चले नेपालमा साना एसयूभी खोज्ने धेरै ग्राहकलाई आफुतिर आकर्षित गर्दै अन्य मोडललाई थप दबाबमा पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top