काठमाडौं । होन्डाले भारतमा सिआरएफ १९० एल मोडल उत्पादन गर्ने भएको छ । कम्पनीले फेब्रुअरी १८ तारिखमा यसको प्याटेन्ट दर्ता गरेसँगै चाँडै नयाँ मोटरसाइकल बजारमा आउने अपेक्षा गरिएको हो ।
भारतमा मोटरसाइकल सेग्मेन्टमा निकै आक्रमक बजार विस्तारको रणनीति बनाएको होन्डाले १८४.४ सीसी क्षमताको, एयरकुल्ड इन्जिनमा नयाँ मोटरसाइकल ल्याउने छ । यसमा रहेको इन्जिनले अधिकतम १५.७ पीएस पावर र १५.७५ एनएम टर्क प्रदान गर्ने छ ।
मोर्डन फिचरको साथ आउने सिआरएफ १९० एल मोटरसाइकलमा अल एलइडी हेडल्याम्प, टेलल्याम्प, टर्न इन्डिकेटर, फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर र अगाडि अग्लो विन्डसिल्ड रहने छ । होन्डाले इन्ट्री लेभल एड्भेन्चर मोडलको रुपमा ल्याउने यो मोटरसाइकलमा अगाडि १९ र पछाडि १७ इन्चको अलोय ह्वील रहने छ ।
होन्डाले यसको धेरै काम पुरा गरिसकेको कारण सिआरएफ १९० एल चाँडै बजारमा आउने अनुमान गरिएको छ । यसको सिधा प्रतिस्पर्धा हिरो एक्सपल्ससँग हुने अनुमान गरिएको छ । तर, मूल्यको हिसावले भने यो एक्सपल्सको तुलनामा महंगो हुन्छ ।


